
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको तयारी एकसाथ अगाडि बढेको छ । तर दुवै देशले भ्रमणको प्रस्तावित मिति एउटै गरेपछि प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार प्रचण्डको चीन र अमेरिका दुवै देशको भ्रमणको तयारी तीव्र रुपमा चलिरहेको छ । तर पहिला कहाँ जाने तय भएको छैन । परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘चीन र अमेरिका दुवै देशका लागि निमन्त्रणा आएको छ । दुवै देशले तोकेको मिति जुधेका कारण पहिला कहाँ जाने निश्चित हुन सकेको छैन ।’२३ सेप्टेम्बरदेखि चीनमा एसियाली खेलकुद हुँदैछ । त्यसको उद्घाटन कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री प्रचण्डलाई भ्रमण गराउने चीनको तयारी छ । तर त्यही समयमा अमेरिकाको न्यूयोर्कमा संयुक्त महासभामा भाग लिन जाने कार्यक्रम तय भएको छ । त्यो सभामा सेप्टेम्बर २१ देखि २३ सम्म विभिन्न देशका सरकारको प्रमुखहरूको सम्बोधन गर्ने कार्यक्रम छ । दुवै देशको कार्यक्रम जुधेको कारण पनि प्रधानमन्त्री प्रचण्ड अप्ठ्रोमा परेका छन् ।तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो विदेश भ्रमण भारतको गरे । पहिलो विदेश भ्रमण चीन हुने कि भारत भन्ने चर्चाकाबीच प्रचण्डले पहिलो विदेश भ्रमण भारतको गरेका हुन् । भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा जाने तयारी शुरु भएको थियो । तर यसबीचमा प्रचण्ड खाद्य सुरक्षा कार्यक्रममा सरिक हुन इटाली गएर फर्किइसके ।इटाली भ्रमणपछि अब चीन भ्रमणको तयारी शुरु भएको थियो । यहीबीचमा अमेरिका भ्रमणको तयारी पनि अगाडि बढेको छ ।प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार उनी पहिला अमेरिका जान सक्छन् । एक अधिकारी भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डले अमेरिका जाने मन बनाइसकेका कारण पहिलो भ्रमण अमेरिका हुन सक्छ । त्यसलगत्तै चीन जाने सम्भावना ज्यादा छ ।’महासभामा सेप्टेम्बर २१ देखि २३ सम्म सरकार प्रमुखको सम्बोधन रहेको कारण नेपालका सरकार प्रमुख प्रधानमन्त्री प्रचण्डको सम्बोधन शुरुमै राखेर कार्यतालिका बनाउने गृहकार्य भइरहेको बताइन्छ ।महासभामा प्रचण्डले बोल्ने कार्यक्रम २२ सेप्टेम्बरका लागि राखिएको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर २० या २१ मा अमेरिका पुग्नुपर्ने हुन्छ । महासभाको कार्यतालिका हेरफेर गरेर २१ तारेखमा राख्न सकिन्छ कि भनेर नेपालको तर्फबाट प्रयास भइरहेको छ । यसविषयमा साउन १८ गते प्रधानमन्त्री प्रचण्डले नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनसँग छलफल गरेका थिए । अमेरिकी दूतावास पनि यसको गृहकार्यमा लागेको छ ।चीनमा सेप्टेम्बर २३ मा एसियाली खेलकुदको उद्घाटन छ । त्यसमा सहभागी हुने गरी अमेरिकाबाट सिधै चीन जाने या नेपाल आएर जाने त्यसको तालिका मिलाउन सकिने सम्भावनाको विषयमा परराष्ट्र मन्त्रालय गृहकार्यमा छ ।अक्टोबर ८ मा एसियाली खेलकुदको समापन छ, त्यसमा जाने हो कि ? यस कोणबाट पनि कुराकानी भइरहेको बताइन्छ ।यता, चीनले भने अमेरिकाभन्दा पहिले चीनको भ्रमण गराउन चाहेको छ । यसअघि पनि भारतभन्दा पहिले चीन लैजान प्रयास गरिएको थियो, तर प्रधानमन्त्री प्रचण्डले पहिलो भ्रमण भारतबाट शुरु गरेका थिए ।




























