श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रमस्वरुप हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ ।बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी गराइएको हो । शनिवारका दिन बिहान ४ बजे हरसिद्धि भवानीको प्राङ्गणमा भेला भइ हरिसिद्धि भवानीका पुजारीहरूद्वारा पुजासामग्री, काहा बाजा, धिमे बाजासहित सबै भक्तजनहरूले कोपुली नौधारा मन्दिरमा पुजागरी फुल्चोकीमा गएर फुल्चोकी माईको पुजागरी हरसिद्धि भवानी १२ वर्षे सिद्धि दनेगु कार्य औपचारिक रूपमा सम्पन्न हुनेछ । पूजापछि गोदावरीको हरसिद्धि चौर (जल ख्यः) मा हरसिद्धि भवानीको प्रतिक स्वरूपको पुजा कलश विराजमान गरी पुजारीहरूलाई प्रसाद ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । सरकारी पूजागरी क्रमवद्धरूपमा श्रद्धालु भक्तजनहरूको पूजा (छायछी) गरी विभिन्न साँस्कृतिक बाजा खलःहरूलाई भोज खुवाउने कार्यक्रम पनि रहेको बताइएको छ । बाडेगाउँस्थित जलःगामा द्यो लिछोया थैबको जलः चपाको बाटो भई हरिसिद्धिको वपी टोलको ढोकाबाट निःब हुँदै हरिसिद्धि भवानीको प्राङ्गणमा पुगे पश्चात १२ वर्षे मेला सम्पन्न हुनेछ । पत्रकार सम्मेलनमा जानकारी दिँदै ललितपुर महानगरपालिका, २८ का अध्यक्ष वीरेन्द्र महर्जनले हरेक वर्ष हरिसिद्ध भवानीको नाच देखाइने र सो नाचहरु योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर र दशैँको दिनमा समेत एक पटक देखाइने गरेको बताउनु भयो । उहाँले हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको बताउनु भयो । हरिसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच हो । उहाँले यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा देखाउने कार्य सम्पन्न भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्ष हरिसिद्ध भवानीको नाच देखाइन्छ, उक्त नाच योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर देखाइन्छ भने दशैँको दिनमा समेत एक पटक देखाइन्छ । हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको मानिन्छ । हरिसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच पनि हो । यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा देखाउने कार्य सम्पन्न भइसकेको छ । हरिसिद्धिको शक्तीस्वरूपी देवी श्री श्री श्री हरसिद्धि भवानी त्रिशक्ति देवीको मन्दिर चार तल्लाको कलात्मक प्यागोडा शैलीको ३० वटा गजुर भएको मन्दिर हो । उक्त मन्दिरभित्र अत्यन्त प्रचलित साक्षात्कार देवी जलःद्यो (हरसिद्धि) भवानी विराजमान रहनुभएको छ । त्यस्तै यहाँ चारवटा टोलहरू क्रमशः पाकच्वः टोल, साफः टोल, ओपी टोल र सम टोल रहेका छन् भने चारवटा नै ढोकाहरू हुनु यहाँको विशेषता हो । यो हरसिद्धि नाँचमा १० जवान च्याभु पुजारी र १९ जना गण पुजारीहरू समेत गरी जम्मा २९ जना पुजारीहरू रहन्छन् ।’श्री हरसिद्धि भवानीको १२ बर्षे फूल्चोकी मेला सभ्य र भव्यताका साथ सम्पन्न गर्न श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले आग्रह गरेको छ ।