
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ ।छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ । घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए ।एयरपोर्टबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पु¥याउने गरेका थिए । यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पु¥याउने गरेका थिए । एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ।




























