
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा उत्पादन भइरहेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् ।काठमाडौंको बूढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ उत्पादन प्रक्रियाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतबाट नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको बताए । उनले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धा गर्न र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न कम्पनीलाई सुझाव दिए ।‘यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो । गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्, अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ,’ उनले भने ।वाग्लेले नेपालमै उत्पादनको दायरा विस्तार गर्न आग्रह गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न आवश्यक रणनीति बनाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय ब्रान्डको उदाहरण दिँदै नेपालमै सम्भव हुने डिजाइन तथा उत्पादनका कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।‘सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् । विश्व बजारमा पुर्याउन अरू के गर्न सकिन्छ, त्यसमा पनि सोच्नुहोस्,’ उनले भने ।नेपाली उत्पादन विश्व बजारमा स्थापित होस् भन्ने शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले नेपाली ब्रान्डलाई विदेशमा रहेका नेपालीले समेत रोज्ने वातावरण बनाउनुपर्ने बताए । उनले ‘यात्री पीटू’ जस्ता स्वदेशी उत्पादन अमेरिकी बजारलगायत विश्वका विभिन्न क्षेत्रमा पुग्न सक्ने गरी प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।



























