
काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकामा नेपाललाई समावेश गरिएको छैन ।यसअघि साफले सेप्टेम्बर १५ मा प्रारम्भिक खेल तालिका सार्वजनिक गर्दै फिफाको निलम्बन फुकुवा भए नेपाललाई समावेश गरेर तालिका परिमार्जन गर्ने जनाएको थियो । गत अगस्ट १ मा समूह विभाजन सार्वजनिक गर्दा पनि साफले निलम्बन सेप्टेम्बर ३० सम्म फुकुवा हुने अपेक्षा गरेको जनाएको थियो ।तर निर्धारित समयसम्म निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।योसँगै नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । नेपालले प्रतियोगितामा एकपटक उपविजेताको उपाधिसमेत जितेको छ ।साफका अनुसार प्रतियोगिता आगामी नोभेम्बर ५ देखि बंगलादेशमा सुरु हुनेछ । समूह चरणका खेल नोभेम्बर ११ सम्म सञ्चालन हुनेछन् । सेमिफाइनल नोभेम्बर १४ र फाइनल नोभेम्बर १७ मा हुनेछ ।



























