
गण्डकी, चैत ६ गते । होटल सङ्घ पोखराले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औँ फेवा नववर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटेलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवम् मूल संयोजक सुवेदीले जानकारी दिनुभयो ।महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उहाँले बताउनुभयो । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ । सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचार प्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ । नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ । रासस




























