
काठमाडौं | सप्तरीको राजविराज विमानस्थलबाट अब रात्रीकालिन उडान हुने भएको छ । अहिले बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै अब बुद्ध एयरले नै रात्रीकालिन उडान समेत गर्ने भएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि सोमबार(आज)देखिराजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न लागेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।राजविराज विमानस्थलबाट पूर्वतर्फ एक सय किलोमिटरमा विराटनगर विमानस्थल रहेको छ भने पश्चिममा पनि एक सय किलोमिटरमा जनकपुर विमानस्थल रहेको छ । सय किलोमिटरको फरकमा विमानस्थल रहेका कारण यस क्षेत्र वरिपरिका यात्रुको रोजाइमा राजविराज विमानस्थलको हवाई सेवा पर्ने गरेको छ ।
सोमबारको कार्यक्रमका लागि संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे साँझसम्म राजविराज पुगिसक्ने मन्त्रीका स्वकीय सचिव ताल बहादुर राउतले बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह राजविराज विमानस्थल जाने बताइएको छ । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।




























