
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ।समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् ।२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ ।दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील/पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीहरुले राष्ट्रपतिको हातबाट नै पदक तथा प्रमाणपत्र पाउँछन् भने अरुले स्टलबाट प्रमाणपत्र लिनुपर्छ ।त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै पदक बन्द गराएको हो । यसैबीच समान अङ्क ल्याउने एउटै ब्याचका विद्यार्थीहरुमध्ये त्रिविले आफूखुशी नाम छनाेट गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।




























