काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने भएको छ । बिद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । बिद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहको अध्यक्षतामा बसेको बैठकले शिक्षा क्षेत्रमा देखिएको विभेद, सेण्डिकेट तथा निषेधको विरुद्ध सशक्त रुपमा आवाज उठाउँने निर्णय समेत गरेको छ ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा बसेको बैठकमा शिक्षा क्षेत्रमा देखिएको विभेद, सेण्डिकेट तथा निषेधको बारेमा गम्भिर छलफल भएको छ । शिक्षालाई व्यापार बनाउँने, बिद्यार्थीको हकहीत एवं अधिकार, सिपमुलक शिक्षा, शिक्षाको वर्तमान अवस्था लगायतका बिषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा बैठकमा राखेका छन् । बैठकले शिक्षा क्षेत्रमा देखिएको विभेद, सेण्डिकेट तथा निषेधको विरुद्ध राष्ट्रिय भेला सहित चैत्र २४ गते काठमाण्डौंमा बिधार्थीको बृहत् प्रदर्शन गर्ने निर्णय समेत गरेको बिद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहले जनाएका छन् ।