
काठमाडौँ । ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्।प्रधानमन्त्री तथा कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्।त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। शिवाकोटी त्रिविको शिक्षा शास्त्र सङ्कायका प्राध्यापक हुन् भने सिंह विज्ञान सङ्कायकी प्राध्यापक हुन्।अन्य विश्वविद्यालयमा भने रजिस्ट्रार मात्रै नियुक्त गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन्।त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदीप ठकुरी र राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।



























