काठमाडौं । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ । तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।चितवन घर भएकी सीतालाई सानैदेखि नाचेर आफूलाई स्थापित गर्ने सपना थियो। तर, १२ वर्षको उमेरमै क्यान्सर लागेपछि एउटा खुट्टा काट्नु परेको थियो।एसएलसीपछि सीताले एक खुट्टाकै भरमा नृत्यको बाटो रोजिन्। सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुर्यायो।एक खुट्टाले नाचेर चर्चमा आएकी सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै स्टेजमा नृत्य गरेकी छन् ।
अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।