
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र **‘म मदनकृष्ण’**को छायांकन सुरु भएको छ । शुभमुहूर्त गर्दै आजदेखि चलचित्रको औपचारिक छायांकन थालिएको हो ।चलचित्रको छायांकन काठमाडौं, पाँचखाल र पनौतीका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई आगामी चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।निर्देशक मिलन चाम्सका अनुसार चलचित्रमा मदनकृष्ण श्रेष्ठको संघर्ष, सफलता तथा जीवनका विभिन्न आरोह–अवरोहलाई कथावस्तु बनाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी र उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन् ।त्यस्तै, अरुण क्षेत्रीले हरिवंश आचार्य तथा वर्षा राउतले हरिवंशकी श्रीमतीको भूमिका निर्वाह गर्नेछन् ।चलचित्रमा मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिने निर्माण पक्षले जनाएको छ ।चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसीलगायत कलाकारको अभिनय रहनेछ ।भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् । चलचित्रको काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर आरआर फिल्म्सले वितरण गर्नेछ ।



























