
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको ‘पलेँटी’ लघु सांगीतिक कार्यक्रमअन्तर्गत यसपटक नीर शाहका गीत र उनका सांगीतिक यात्रासँग जोडिएका संस्मरण प्रस्तुत गरिएको हो ।संगीतकार तथा ‘पलेँटी’का संयोजक आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्डमा नीर शाहले जीवन र दर्शनसँग निकट रहेर रचेका शब्दमा संगीतबद्ध गीतहरू प्रस्तुत गरिएका थिए ।कार्यक्रमको सुरुवात ‘गहिराइमा डुब्दै नडुब’ बोलको गीतबाट भएको थियो । त्यसपछि ‘कहिलेकाहीँ म हाँस्छु, धेरैबेर हाँस्छु’ बोलको गीत प्रस्तुत गरिएको थियो ।कार्यक्रमका क्रममा मञ्चको मध्यभागमा बसेका नीर शाहले विभिन्न सर्जकसँगको आफ्नो संगत र सांगीतिक यात्राका संस्मरण सुनाएका थिए । विगतका सहयात्रा र संगत सम्झँदै गर्दा उनी कतिपय प्रसंगमा गम्भीर देखिन्थे ।विशेषगरी गायक नारायण गोपालसँगको आफ्नो संगतका प्रसंग सुनाउँदै शाहले उनीसँग जोडिएका विभिन्न सम्झना साझा गरे । नारायण गोपालसँगै **‘गोल्डन काइट वर्ल्ड सङ फेस्टिभल’**मा जाँदाको यात्रालाई स्मरण गर्दै उनले त्यही क्रममा नारायण गोपालले जगदम्बाश्री पुरस्कार प्राप्त गरेको समाचार सुनेको बताए ।पुरस्कार प्राप्त गरेपछि नारायण गोपालले पुरस्कार रकमको हिसाबकिताब गर्दै हँस्यौली शैलीमा किनमेलका योजना बनाएको प्रसंगसमेत शाहले सुनाए । उनका यस्ता संस्मरणले कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै नेपाली संगीत क्षेत्रका पुराना सहयात्रा र सम्बन्धलाई समेत जीवन्त बनाएको थियो।




























