यदि तपाईं जीवनमा सफलता चाहनु हुन्छ भने झारपातलाई आफूबाट टाढा राख्नुस् । नकारात्मक र तुच्छ सोच भएकालाई आफ्नो छेउमा ढिम्किन पनि नदिनुस् । विचरा मेरो साथी गरिब छ, उसलाई दुख छ भनेर कहिल्यै आवश्यकताभन्दा बढी दयालु बनेर सहयोग नगर्नुस् । तपाईं जति सहयोग गर्नुहुन्छ त्यो सहयोगको भारले थिचिएर त्यो तपाईंका साथी त्यति नै ईर्ष्यालु हुँदै जान्छ ।
तपाईंले मल्लिँडो बारे सुन्नु भएको छ ? जब तपाईं धान रोप्नुहुन्छ तब एउटा झार जुन तपाईंले रोपेको नै थिएन त्यो तपाईंको खेतमा धानभन्दा छिटो सप्रिन्छ । धानलाई हालेको मलपानी उसैले सोस्छ र धानलाई नै सुकाउँछ । हो यो झार नै मल्लिँडो हो । यसलाई उखेल्न ढिलो गर्नुभयो भने धान स्वाहा हुन्छ । धान राम्रो फलाउने भए गोडमेल गरिहाल्नुस् ।
जसरी धान राम्रो बनाउन झारपात उखेल्नुपर्छ त्यसैगरी जीवन सफल बनाउन झारपात जस्ता नकारात्मक साथी संगतलाई हटाउनु पर्छ ।
तपाईंको साथी गरिब छ भने ऊ तपाईं धनी हुनुहोस् भन्ने कहिल्यै चाहँदैन । कोही पनि गरिब साथीलाई धन कमाउने सूत्र नभन्नुस् । उसले त्यो सूत्र लिँदैन । लिने स्वभाव हुन्थ्यो भने त ऊ उहिल्यै धनी भइसक्थ्यो ।
यदि आफ्नो मिल्ने साथी भनेर तपाईंले उसलाई आफ्नो गोप्यता खोल्नु भयो भने तपाईंले आफ्नै खुट्टामा बञ्चरो हान्नु भयो । अब घाइते भएर बस्नुस् । गोप्य थाहा पाएपछि उसले तपाईंलाई खिल्ली उडाउने छ । जो मानिस सफल हुन सकिरहेका छैनन् उनीहरु तपाईं सफल हुनुहोस् भन्ने कहिल्यै चाहँदैनन् । उनीहरु तपाईं पनि उनीहरुको जस्तै औसत जिन्दगी बाँच्नुस् भन्ने चाहन्छन् । यदि तपाईं सफल हुनु भयो भने उनीहरुलाई आफ्नो जीवन तुच्छ लाग्छ । र, तपाईंको अगाडि पर्न पनि उनीहरुलाई इच्छा हुँदैन । तपाईंले याद गर्नु भएको छ कि छैन जब तपाईं धनी वा सफल बन्दै जानु हुन्छ तपाईंका पुराना साथीहरु विस्तारै किनारा लाग्दै सम्पर्क बिहिन हुन्छन् । दुखमा तपाईंको साथमा रहिरहने साथीलाई हेरेर धेरै खुसी हुनु पर्दैन वास्तवमा यस्ता साथीहरु तपाईं औसत नै बनिरहनुस् भन्ने चाहन्छन् । तर तपाईं जस्तै धन कमाइरहेका, सफलता पाइरहेका साथीहरु भने तपाईं सफल भएको हेर्न चाहन्छन् । धनी मानिसहरुलाई थाहा हुन्छ कि आपसमा बाँड्नको लागि संसारमा धेरै कुरा छ । तर असफल भइरहेका तपाईंमा नकारात्मक साथी सहयोगीहरु भने तपाईं असफल हुनुहोस् भन्ने नै चाहन्छन् ।
एउटा पुरानो भनाइ छ– एकै जातका चराहरु सँगै उड्छन् । अर्को पनि भनाइ छ, संगत गुणाको फल । यी भनाइ वास्तवमै साँचो हुन् । यदि होइन जस्तो लाग्छ भने आफ्नो संगत हेर्नुहोस् । तपाईं आज जे बन्नु भएको छ त्यसमा तपाईंको संगतको महत्वपूर्ण भूमिका छ । चुरोट वा रक्सी खाने बानी छ भने त्यो पनि कुनै बेलाको तपाईंको संगतको परिणाम हो । यदि तपाईं धेरै धनी बन्न चाहनु हुन्छ र बेस्सरी कमाउन चाहनु हुन्छ भने तपाईंले त्यस्तै मानिसहरुसँग संगत बढाउनु पर्छ जो धनी छ वा धनी बन्न चाहन्छ । गरिब र दुखी मानिसले घेरिएर कोही पनि धनी र सम्पन्न बन्न सक्दैन ।
ख्याल गर्नुहोस्, जस्तो विचार र स्वभाव भएका मानिससँग उठबस गरिन्छ विस्तारै आफू पनि त्यस्तै बनिन्छ, । एउटा भनाइ पनि छ, १२ वर्षपछि लोग्ने स्वास्नीको विचार मिल्छ र बीस वर्ष पछि त उनीहरुको अनुहार पनि मिल्न थाल्छ । जुन खालका मानिसहरुसँग तपाईं सधैं उठबस गर्नु हुन्छ । ढिलो चाँडो तपाईं पनि त्यस्तै हुनुहुन्छ । दश जना साथी छन् ९ जना मापसे गर्छन् भने तपाईं अब दशौं बन्नु हुन्छ । मापसे गर्न चाहनु हुन्न, चुरोट तानेर मुख गन्हाउने बनाउन चाहनु हुन्न भने खराब आदत र नकारात्मक सोच भएका साथीहरुको संगत छोडिहाल्नुस् नत्र बच्नु हुन्न । खराबको संगत गर्नुभन्दा एक्लो रहनु धेरै राम्रो हो ।
यदि तपाईंको साथीहरु औसत जिन्दगीबाट सन्तुष्ट हुने खालको फिलोसोफी भएका, सबै भाग्यको खेल हो हामीले चाहेर यहाँ केही हुँदैन, परमात्माले सबै कुरा पहिला नै तय गरिसकेका छन्, भगवानले छैटीका दिन नै हाम्रो भाग्य लेखिसके र उनले लेखेभन्दा बढी हामीले जति टाउको ठोके पनि पाइन्न भन्ने खालका छन् भने तपाईं भाग्य बदल्न सक्नु हुन्न । समयसँगै तपाईं पनि त्यस्तै त्यस्तै हुनुहुनेछ जस्ता साथीहरु छन् । विस्तारै तपाईंका सपनाहरु मरेर भट्टीमा पोखिने छन् । त्यसैले सधैं सकारात्मक मानिसहरुबाट घेरिनुस् । सकारात्मकता र सफलता बारे सोच्नुस् र सफलता हासिल गर्नुहोस् । र, अरुलाई उच्च उठाउनमा योगदान दिनुस् ।
तपाईंलाई थाहा छ, राजा वीरेन्द्रको वंश विनाश कसले गर्यो ? उनकै परिवारको सदस्यले । बुद्धलाई बारम्बार मार्न खोज्ने को थियो ? उनकै भाइ देवदत्त, राणा प्रधानमन्त्री रणोदिप सिंहलाई कसले मार्यो? उनकै भतिजाहरुले । प्रधानमन्त्री माथवरसिंह थापाको हत्या कसले गर्यो ? दरबारमै बोलाएर राजा राजेन्द्र र रानी राज्यलक्ष्मीले जसले प्रवासमा रहेका उनलाई विश्वास गरेर प्रधानमन्त्री बनाएका थिए । अनि गोली ठोक्ने उनकै भाञ्जा जंगबहादुर थिए । गणेशमानलाई पार्टीबाट रुवाउँदै निस्कन बाध्य कसले बनायो ? उनकै पार्टीका गिरिजा कोइरालाले । तपाईंलाई सबैभन्दा बढी हानि टाढाको शत्रुले होइन तपाईंले शुभचिन्तक मानेको तपाईंको सबैभन्दा नजिकको मान्छेले गर्छ । त्यसकारण आफ्नो गोप्यता सबैभन्दा नजिक मानिएको मित्रलाई पनि नसुनाउनुस् । किनकि तपाईं स्वयम् आफ्नो सपना आफ्नो गोप्यतालाई गोप्य राख्न सक्नुहुन्न भने अरुले कसरी राख्छ ?
नकारात्मक साथीहरुले प्रतिगमनको बीउ रोपिदिन्छन् । नकारात्मक साथी भनेको त्यो धमिरो हो जसले तपाईं भित्रै बसेर तपाईंलाई सिध्याउँछ जसरी धमिराले काठभित्रै बसेर काठ सिध्याउँछ । यस्ता धमिरासँग बसेर तपाईंले ठूलो सपना देख्नु भयो भने सबैभन्दा पहिला तपाईंका तिनै धमिरा साथीहरुले र त्यसपछि तपाईंका नातेदारहरुले तपाईंलाई मजाक बनाउनेछन् । सपनालाई खतरामा पार्न सक्ने यस्ता किराहरुलाई छेउ पर्नै नदिनुस् ।
कुनै पनि क्षेत्रमा जब तपाईं सफलताका खुट्किला चढ्न थाल्नु हुन्छ तब समाजका किराहरुसँग मिसिएर मिडियाका तर्फबाट पनि हानिकारक किराहरु आउनेछन् । मिडियाका किराहरुको हल्लीखल्ली सुनेर सरकारी किराहरु पनि थपिनेछन् । के कुराको लागि तयार रहनुस् भने सफलतासँगै तपार्इंमा नकारात्मक खबरको वर्षात हुनेछ । यो वर्षात् झेल्ने क्षमताको विकास पहिल्यै गर्नु भएन भने तपाईंलाई उत्तानो पारेर यिनले लुछ्ने छन् । तर डर मान्नु पर्दैन तपाईं विरुद्धका आवाज जति सशक्त हुँदै जान्छन् तपाईंको दिमागले पनि नयाँ नयाँ तरिकाले काम गर्न थाल्छ । संघर्ष र खतराले दिमागको सृजनशिलताको विकास हुन्छ र यसले काम गर्ने नयाँ नयाँ तरिकाको खोजी गर्छ । त्यसैले हरबखत दिमाग खुला राख्नुस् ।
विदेशी आक्रमणबाट चीनलाई जोगाउन चीनका राजाहरुले ग्रेटवाल बनाए तर पनि चीनमाथि विदेशीले आक्रमण गरे । ति कुनै पनि आक्रमण शत्रु सेनाले ग्रेट वाल तोडेर गरेका थिएनन् । प्रत्येक पटक देशद्रोही आफ्नै सिपाहीले पर्खालको ढोका खोलिदिएर शत्रुलाई चीनको सीमाभित्र छिर्न दिएको थियो । मतलब के भने तपाईंलाई सकाउने तपाईंको सबैभन्दा नजिक बसेको छ । यस्ता नकारात्मक मानिसबाट आपूmलाई अलग गर्नका लागि धेरै कोसिसको आवश्यकता त पर्छ नै ।
त्यसैले आजै के फैसला गर्नुस् भने तपाईं जुन मानिससँग जोडिनु भएको छ उसको हरेक दिनको बारेमा थाहा पाउनुस् । कतै तपाईं त्यस्तो किराहरुको संगतमा त हुनु हुन्न जो तपाईंको सपना डडेको हेर्न चाहन्छन् ? त्यस्तै एउटा कुरा लगभग के निश्चित हो भने यदि तपाईंले सफल मानसिकता भएका मानिसहरुसँग संगत गर्नुभयो भने तपाईं पनि चाँडै सफल र धनी बन्नु हुनेछ । त्यसकारण सकारात्मक विचारलाई आफूतिर आकर्षित गर्नुहोस् ।
मेरो यति सुझाव छ, सफल बन्न चाहनु हुन्छ भने आफ्नो संगतमा ध्यान दिनुस्, संगत गलत भयो भने तपाईंको सफलता पनि तासको घर जसरी कुनै पनि बेला ढल्न सक्छ । गलत मानिसलाई साथी बनाउनुभन्दा बरु फकिर जस्तो एक्लै रमाउनुस् । संगतमा सतर्क रहनुस् ।
सफलताका लागि अर्को नभइ नहुने कुरा संकल्प हो । तपाईंको संकल्पमा नै त्यो शक्ति हुन्छ जसले तपाईंलाई निरन्तर काममा लाग्न बाध्य बनाउँछ । त्यसैले सपना देख्नुस् र त्यसमा दृढ संकल्प लिनुस् ताकि सुनामीले पनि हल्लाउन नसकोस । संकल्पमा अकल्पनीय शक्ति लुकेको हुन्छ । दृढ संकल्प छ भने फुटबल र क्रिकेटको म्याचमात्र जित्न सकिने हैन जिन्दगीको सबै म्याच जित्न सकिन्छ । बिनासंकल्पको सपना बेकार हो ।
जीत कहिले आउँछ ? यो तब आउँछ जब तपाईं यसलाई आत्मैदेखि बोलाउनु हुन्छ । नबोलाई कुकुर त आउँदैन भने सफलता कसरी आउँछ ? सफलता तब आउनेछ जब तपाईं यसलाई आधिकारिक रुपमा बोलाउनु हुनेछ । जब तपाईं सोच्नु हुन्छ, म जित्ने प्रयास गर्छु । यस्तो लुते संकल्पले सफलता आउँदैन । म गरेर देखाउँछु, यो पनि शक्तिशाली सोच होइन । तपाईंले हिम्मतका साथ सोच्नु पर्छ, म गरेरै देखाउने छु । बलियो सोचले बलियो एक्सनका लागि प्रेरित गर्छ । यस्तो बेलामा तपाईंको मस्तिष्कले दुईवटा आश्चर्यजनक काम गर्छ: पहिलो, यसले तपाईंलाई के बताउने छ भने कसरी सपनालाई साँचो बनाउने र दोस्रो चाहिं तपाईंको दृढसंकल्पले तपाईंलाई आवश्यक शक्ति दिनेछ ।
त्यसकारण, लक्ष्यमा अर्जुन दृष्टि पारेर म गरेरै देखाउने छु । भन्ने विचारलाई मस्तिष्कको गहिराइमा रोप्नु होस्, त्यो साकार हुने निश्चित छ । आफूलाई प्ररित गरिराख्न आफूले लक्ष्य पाइसके जस्तो नाटक पनि गर्नुहोस् । जब तपाईं दृढ संकल्प गर्नुहुन्छ तब तपाईंका मस्तिष्कले तपाईंलाई त्यो पाउने बाटो पनि देखाउने छ ।
कोलम्बसले नयाँ संसार खोज्यो । कसरी ? त्यो समयमा सयौं समुन्द्री कप्तान ऊ भन्दा योग्य थिए । उनीहरु मध्ये कयौं त समुद्रमा पश्चिमतिरको यात्रा गर्ने बारेमा विचार पनि गरिरहेका थिए । फरक कति मात्र यो थियो भने कोलम्बसले पूर्वको छोटो दूरीबाट खोज्ने दृढ संकल्प गरेको थियो । परिणाम उसको संकल्पले काम गर्यो ।