
प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
२३ औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सशस्त्र प्रहरी बलमा आवद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनासो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो । उहाँले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हित अनुकुल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई सचेत गराउनु भयो । प्रधानमन्त्री दाहालले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भुमिकाको प्रशंसा गर्दै सो सम्बन्धि तय गरिएको कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयामिक विकासले एकातिर हामीलाई अवसरका अनगिन्ति ढोकाहरु खोलिदिएको छ भने त्यसले मुलुकको समृद्धिका लागि महत्वपूर्ण आधारिशला पनि तयार भएको छ । अर्कोतर्फ सूचना प्रविधिको विकाससँगै नयाँ नयाँ अपराध र सुरक्षा चुनौतिसमेत थपिएका छन । तसर्थ, सशस्त्र प्रहरी बलले एकातिर प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई यसलाई राष्ट्रिय हित अनुकुल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनैपर्दछ । अर्कोतर्फ बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका निम्ति समेत उत्तिकै दक्ष र चनाखो हुन जरुरी छ । सीमा सुरक्षा र व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जुन कार्यक्रम अगाडि सारेको छ । त्यसले विद्यमान समस्या र चुनौतिहरु सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुग्ने मैले विश्वास लिएको छु । तसर्थ, यस संगठनले प्रश्ताव गरेको सीमा विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाढि बढाउन सरकार प्रतिवद्ध रहेको जानकारी पनि म गराउन चाहन्छु । देशको सुरक्षा र स्वाभिमानका निम्ति दिगोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतको वृद्धि विकास तथा उनीहरुको प्रोत्साहनमा कयौं समस्याहरु विद्यमान छन् । मुलत दरबन्दीको सीमितताका कारण सेवा प्रवेशको लामो अवधिसम्म पनि पदोन्नति नहुने समस्याका कारण तपाईहरुले आफ्नो भविष्यप्रति व्यक्त गर्नुभएको चिन्ताबारे मलाई जानकारी छ । र म त्यसमा सचेत पनि छु । मैले सरकारको नेतृत्व गरेपश्चात सकल दर्ताका करिव ६ हजार अधिकृत र जवानहरुको पदोन्नतिको प्रक्रिया सम्पन्न गरिएको छ । साथै बललाई विगतमा दिइएका जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारी समेत प्रदान गरिएको छ । यसबाट मलाई राहत त महशुस भएको छ । तर संगठन र तपाईहरुको आवश्यक्ताको दृष्टिले यो पर्याप्त छैन भन्ने कुरा पनि मलाई जानकारी छ । आगामी दिनमा यसबारे छलफल गरी आवश्यक र सम्भव सहजीकरण गर्न नेपाल सरकार दृढ रहेको विश्वास पनि म यस अवसरमा दिलाउन चाहन्छु । साथै संगठनमा आवद्ध अधिकृत र जवानहरुको वृद्धि विकास, सेवा सुविधा, सुरक्षा, हात, हतियार र अन्य लजिष्टिक सामानहरुको उपलब्धता सरकारको उच्च प्राथमिकतामा रहने विश्वास पनि म व्यक्त गर्दछु । ’




























