
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद न्यूनिकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना सार्वजनिक गर्दै विपद न्यूनिकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको हो ।प्राधिकरणले योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाएको छ । प्राधिकरणले यस वर्ष सरदर भन्दा धेरै बर्षा हुने सम्भावना रहेको भन्दै १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । यसका लागि बिभिन्न निकायसंग समन्वय गर्दै अघि बढ्ने उहाले बताउनुभयो ।प्राधिकरणले मनसुनजन्य विपदबाट जोगिन तीन दिन अगाडि नै मौसमको पूर्वानुमान गरी बुलेटिन जारी गर्ने र आपतकालिन प्रयोगका लागि ११४९ नम्बर प्रयोगमा ल्याइएको जानकारी दिएको छ । अत्यावश्यक स्थानमा तत्काल पुराउन सक्ने गरि एउटा प्रदेशमा कम्तीमा पनि ५ वटाको दरले हुने गरि सातै प्रदेशमा ३५ वटा बेलिब्रिज राख्ने गरि प्रवन्ध भएको प्राधिकरणले जनाएको छ ।((




























