प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउनु माग गर्नुभएको हो । उहाले प्रधानमन्त्री विदेश भ्रमणमा जादा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहेपनि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आएका पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी प्राप्त नभएको धारणा राख्नुभयो । लेखकले राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि सदनमा जानकारी गराउन पनि माग गर्नुभयो । देशको राष्ट्रपति, प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उहाको भनाइ छ । लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने बताउनुभयो । केहि समयपहिला गृहमन्त्रीले सदनमा रहेका नेताहरुमाथि लाञ्छना लगाउने काम भएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाले बताउनुभयो ।उहाले कांग्रेसले उठाएका बिषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न माग गर्नुभयो ।