
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताउनुभएको छ ।सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका कामकारबाही समग्रमा सन्तोषजनक र राम्रो नै रहेको भन्दै अझै गति दिनुपर्ने बताउनुभएको हो ।उहाले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले बजेटका बारेमा एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गर्नुभयो ।अहिलेको समीकरण राम्रैसँग अगाडि जाने भन्दै प्रधानमन्त्री प्रचण्डले उथलपुथल गर्ने बेला नभएको धारणा राख्नुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको र केही परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी दिनुभयो ।रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिका बिषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्री भएकाले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको जिकिर गर्नुभयो ।




























