
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताउनुभएको छ ।रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले एक वर्षमा मन्त्रीहरुको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समूदायबाट पनि समावेशी प्रतिनिधित्व हुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उहाले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको जिकिर गर्नुभयो । अब आफूहरु प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने उहाले बताउनुभयो । मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको धारणा राख्नुभयो ।मन्त्री गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको यसअघिको सरकारले विगतमा फाइल खोल्छौंमात्रै भनेको र वास्तविक रूपमा काम गर्न नसकेको आरोप लगााउनुभयो । साथै, उहाले बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको भन्दै उक्त आरोप निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्टन्ट गरेको जिकिर गर्नुभयो ।




























