काठमाडौं । महानगरका मेयर र उपमेयरको टुङ्गो नलागेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजको लागि स्थगित भएको छ ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ६ वटै महानगरका मेयर र उपमेयरको उम्मेदवार तय गर्न आज दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। तर, मेयर र उपमेयरका उम्मेदवारको विषयमा सहमति जुट्न नसकेपछि कार्यसम्पादन समितिको बैठक सरेको छ।आज बोलाइएको बैठक वैशाख १० गते बिहान ११ बजे बस्ने गरी सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा शनिबार बस्ने बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव पौडेलले बताए।कांग्रेस विधानमा महानगरका मेयर र उपमेयरको उम्मेदवार केन्द्रबाट तय गर्ने व्यवस्था छ। उपमहानगरको मेयर र उपमेयर भने प्रदेश संसदीय बोर्डले तय गर्नेछ।सत्तारूढ गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयरको उम्मेदवार कांग्रेसको भागमा परेको छ।