
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा पुग्ने बताउनुभएको छ ।बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफुहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको र २०८४ साल सम्म वर्तमान गठबन्धन जारी रहे आफुहरुलाई फाइदा पुग्ने बताउनुभएको हो । उहाले आफुहरुलाई सरकारको लोभ नभएको बताउदै वर्तमान गठबन्धन अस्वभाविक, अपवित्र र कृत्रिम भएकाले आफ्नै कारणले अहिलेको सरकार ढल्ने दाबी गर्नुभयो ।अध्यक्ष प्रचण्डले सुशासन, स्थायीत्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राख्नुभयो । वर्तमान संघिय लोकतान्त्रिक गणतन्त्रसंग मेल खाने शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकोले यसमा आफुहरु लागि परेको उहाले बताउनुभयो ।उहाले आफुहरुको अभियान २०८४ मा बहुमत ल्याउने गरी संचालन गरिएको बताउदै अब एमाले र कांग्रेससंग कुनै पनि हालतमा गठबन्धन नहुने स्पष्ट पार्नुभयो ।अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई थप सशक्त बनाई एउटै पार्टी परिवर्तन गर्ने गरी तयारी गरिरहेको पनि जानकारी दिनुभयो । उहाले नेपालमा राजतन्त्र फर्किने सम्भावना हुदै नभएकाले आफुले पूर्व राजाको अभिव्यक्तिलाई महत्व नदिएको जिकिर गर्नुभयो ।




























