
पुण्य प्रसाई
कुनै पनि सरकारप्रति जनताको विश्वास बलजफ्तीले होइन, व्यवहारबाट निर्माण हुन्छ। जब सरकारले आफ्नो काममा इमान्दारिता, पारदर्शिता र निस्वार्थता देखाउँछ तब जनताले स्वतः साथ दिँदा रहेछन् भन्ने उदाहरण खोलाकिनारका सुकुम्बासी बस्तीहरूलाई शान्तिपूर्ण रूपमा अन्यत्र व्यवस्थापन गर्ने क्रममा जनताले देखाएको सहयोग र सरकारी पक्षले देखाएको मानवीयता त्यसैको जिउँदो प्रमाण बनेको छ। प्रहरीहरु जनताको टहरा भत्काइरहेको थिएनन् हात समाएर उनीहरुको उद्दार गरिरहेका थिए, उनीहरुका सामान जतन गरेर गाडीमा लोड गरिरहेका थिए । यदि यही काम बालेनको ठाउँमा ओलीले गर्थे भने कसरी गर्थे होलान्? एक पटक कल्पना गर्नुहोस् । सुकुम्बासी बस्तीमा मैले जे देखें त्यो दृश्यले मेरो मन छोयो । यो जनताको बालेनप्रतिको विश्वास थियो । घिनलाग्दो राजनीति मिसाइएन भने विशाल समस्याहरु कति शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिँदो रहेछ भन्ने उदाहरण हो यो । बालेन सरकारले एउटा स्पष्ट सन्देश दिएको छ, समस्या समाधान संवाद र विश्वासबाट सम्भव हुन्छ, टकरावबाट होइन। कुनै ठूलो क्षति, हिंसा वा द्वन्द्व बिना बस्ती खाली हुनु केवल प्रशासनिक सफलता होइन, यो राज्य र नागरिकबीचको विश्वासको पुनर्स्थापना हो।
यसले अर्को महत्वपूर्ण कुरा पनि उजागर गरेको छ, समस्या जोगाएर राजनीति गर्ने प्रवृत्तिलाई अब चुनौती दिन सकिन्छ। जब समाधान सम्भव छ, तब मुद्दालाई अनन्तसम्म तन्काएर राख्नु राजनीतिक स्वार्थ मात्र हुन्छ। बालेनको यो प्रयासले के देखाएको छ भने स्वतन्त्र सोच र परिणाममुखी नेतृत्वले परम्परागत दलगत सीमाभन्दा माथि उठेर काम गर्न सक्छ।
सरकार बनेको ३५ दिन पनि पुगेको छैन तर लाग्छ बालेन कुनै दलको नेताको रूपमा होइन एक स्वतन्त्र छविका नेतृत्वकर्ताका रूपमा स्थापित हुँदै गएका छन्। यही कारणले विभिन्न राजनीतिक धारका मानिसहरू पनि बिस्तारै उनलाई साझा नेतृत्वको रूपमा हेर्न थालेका छन्। यो घटनाले त्यो आधारलाई अझ सशक्त बनाएको छ। जराबिहिन विरोधमा रमाउनेहरुको कुरा हामी नगरौं ।
शान्तिपूर्ण रूपमा समस्या समाधान हुनु आफैंमा ठूलो उपलब्धि हो। यसले के देखाउँछ भने यदि नियत ठीक छ भने जनताले साथ दिन्छन्। अब यही शैली अन्य क्षेत्रहरूमा पनि विस्तार हुनुपर्छ।



























