
काठमाडौं । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्नको प्रतिकार गर्ने सुरक्षा गार्डलाई नगदसहित सम्मान गरिएको छ ।बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले काटेश्वर भाटभटेनीका सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो । त्यस्तै उहालाई पाँच ग्रेड बढुवा समेत गरिएको छ । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले लुटेराहरुको प्रतिकार गर्दै लखेटेका थिए । सुरक्षागार्डलाई सम्मान गर्दै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले प्रदर्शनका क्रममा निजी घर, व्यवसायमा आगजनी गर्ने काम निन्दनीय भएको बताउनुभयो । उहाले समाजमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाईँलाई राज्यले समयमा नै नियन्त्रणमा लिन नसकेका कारण अहिलेको परिस्थीति सिर्जना भएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो । लुटेराहरुले ल्याएको परिवर्तन आफुहरुलाई नचाहिएको उहाले बताउनुभयो ।त्यस्तै सम्मान ग्रहण गदै सुरक्षागार्ड पराजुलीले काटेश्वर भाटभटेनीमा आएर लुटपाट गरेपछि सवै सुरक्षा टोली मिलेर प्रतिकार गरेको बताउनुभयो ।सो क्रममा सुरक्षागार्ड पनि नगदसहित सम्मान गरेको थियो । त्यस्तै भाटभटेनीले चैत्र १५ गतेको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।




























