
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार बिहानदेखि सुरु हुनुपर्ने बन्दसत्र ढिलो गरी आज दिउँसो २ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको हो ।यसअघि रास्वपाले महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । प्रारम्भमा ४ हजार २ सयभन्दा बढी प्रतिनिधि रहेकोमा उजुरीमाथिको छानबिनपछि अन्ततः ३ हजार ८ सय ४९ प्रतिनिधि कायम गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन तथा महामन्त्री मुकुल बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।यस्तै सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्नेछन् भने उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।बन्दसत्र ढिलो गरी सुरु भएकाले महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने देखिएको छ । आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भए पनि निर्वाचन बुधबार हुने सम्भावना रहेको छ ।महाधिवेशनबाट रास्वपाले १ सय ५८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ संरचनामा १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक सभापति, एक वरिष्ठ नेता, कम्तीमा एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, कम्तीमा एक महिला सहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ता रहनेछन् ।नयाँ विधानअनुसार सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । साथै ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना सभापतिबाट मनोनीत गरिनेछ ।पहिलो चरणमा सभापतिसहित ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । त्यसपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।यसैबीच वरिष्ठ नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई निर्विरोध चयन गर्ने तयारी गरिएको र उक्त पदमा निर्वाचन नहुने जनाइएको छ ।



























