
नायक प्रदीप खड्का अभिनित ‘प्रकाश’को नयाँ पोस्टर सार्वजनिक भएको छ । ‘प्रकाश’को पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै प्रदीपले लामो स्टाटस समेत लेखेका छन् । दिनेश राउत निर्देशित फिल्म भदौ १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।‘मेहनत र कला प्रतिको इमान्दारीतामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा भदौ १० गते प्रदर्शन हुने चलचित्र “प्रकाश” जुन मेरो लागि कलाकारको हिसावले केही विशेष छ’, प्रदीप लेख्छन्, ‘यस चलचित्रमा काम गर्ने क्रममा, कला र कलाकारिता प्रतिको हेर्ने मेरो दृश्टिकोणमा नै परिवर्तन आएको छ । एउटा पात्र मार्फत सम्पूणर् कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै, पात्रलाई न्याय गर्न उसको वस्तुस्थिती देखि भावनाहरु समेतलाई बुझ्ने हेतुले, मैले जुम्लेली लवज सिक्ने देखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौँ दिनहरु बिताएकोछु। सोही क्रममा एउटा कलाकारले ’पात्र र कलाकारिता’ लाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैंले महसुस गरेकोछु ।’




























