काठमाडौँ । रन्जु दर्शना आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने भएकी छिन् । विवेकशील साझा पार्टीकी पूर्वनेता दर्शनाले काठमाडौं ५ बाट उठ्ने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने बताइन् ।प्रतिनिधिसभाको आगामी चुनावमा आफूले उम्मेदवारी दिने जानकारी दिँदै उनले इकान्तिपुरसँग भनिन्, 'आगामी चुनावमा म काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने तयारी गरेकी छु। केही दिनमा मैले औपचारिक रूपमै यसको घोषणा गर्छु ।' उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिने पनि जानकारी दिइन् । तर काठमाडौंमा अन्य स्वतन्त्र उम्मेदवारहरूसँग पनि सहकार्य गरिने उनले बताइन् । 'अन्य क्षेत्रमा पनि स्वतन्त्र रूपमा उम्मेदवार उठ्ने कुरा छ । उहाँहरुसँग मिलेर हामी चुनावमा जान्छौं,' उनले भनिन् ।दर्शना यसअघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्, उनी तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला उनले चुनाव नजिते पनि काठमाडौंवासीको मन जितेको प्रतिक्रिया दिएकी थिइन् ।