काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल माओवादी प्रमुख सचेतक देव गुरुङले बिहीवार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा एमालेका सूर्यप्रसाद पाठकले संसदबाट रोष्ट्रमबाट उभिएर राष्ट्रिय सुरक्षा विषयमा केही गम्भीर विषय उठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्ट्रममा उभिएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।‘जेठ २६ गतेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ दलका नेता ९गुरुङ०ले गम्भीर प्रकृतिको आशंका व्यक्त गर्नुभएको छ । प्रधानसेनापति अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ, रक्षामन्त्री सम्हालिरहेका प्रधानमन्त्री पनि अमेरिका जाँदै हुनुहुन्छ । उहाँको आशंका अनुसार नेपाल कतै आइपीएसमा सहभागी हुने हो कि, आइपीएसमा सहभागी हुनु भनेको सैन्य गठबन्धनमा प्रवेश गर्नेछ, त्यो भनेको पश्चिमा सेना नेपाल आउने र नेपाल दोस्रो युक्रेन त हुने होइन,’ गुरुङको भनाइबारे जवाफ माग्दै पाठकले भने, ‘सत्तारुढ घटकको नेताले संसदमा यस्तो आशंका व्यक्त गरेपछि हामी प्रतिपक्षी र देश चिन्तामा छौं, राष्ट्रिय स्वाधिनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषय भएकोले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले संसद, प्रतिपक्ष र जनतालाई जानकारी गराउनुपर्छ ।’राष्ट्रिय स्वाधीनतासंग जोडिएको विषयमा प्रधानमन्त्रीको जवाफमा लागि उनले सभामुखसंग रुलिङ माग गरेका छन् ।