काठमाडौं - हामी सबैका र नेपाली जनताका अत्यन्तै आदरणीय नेता पुष्पलालको ४४औं स्मृति दिवसमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्न, आदरभाव प्रकट गर्न, उहाँका योगदानको चर्चा गर्न, उहाँले नेपाली समाजको परिवर्तन र रूपान्तरणका निम्ति पुर्याउनु भएको योगदानको स्मरण र मूल्याङ्कन गर्न र उहाँका महान् शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अझ अगाडि बढाउने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुर्याउने सङ्कल्पका साथ यहाँ उपस्थित भएका छौं ।
सबैभन्दा पहिले म आदरणीय नेता पुष्पलालमा सिंगो नेकपा एमालेको तर्फबाट र शान्तिकामी, परिवर्तनकामी र विकासका निम्ति निरन्तर अपेक्षा गरिरहेका सङ्घर्षशील नेपाली जनताको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।
उहाँले पछिल्लो समय श्रेष्ठ लेख्नुहुन्नथ्यो अथवा थर लेख्नुहुन्नथ्यो । जातीयताका विरुद्ध, जातजात भनेर कुद्ने कुराको विरुद्ध पुष्पलाल, सूर्यलाल लगायतका अनेक साथीहरूले श्रेष्ठ, अमात्य अथवा अरू यस्तै नामका पछाडि थर लेख्न छोड्नुभएको थियो । उहाँले पुष्पलाल मात्रै लेख्नुहुन्थ्यो । हामी उहाँलाई उहाँको इच्छा अनुसार पुष्पलाल भनेर नै चिन्छौं ।
उहाँ एउटा गौरवपूर्ण परिवारबाट आउनुभएको थियो । नेपालको परिवर्तनका लागि र नेपाली जनताको खुसहालीका लागि उहाँले कलिलो उमेरदेखि जीवनभरि नै कठोर सङ्घर्ष गर्नुभएको थियो । नेपालमा लोकतन्त्र होस्, नेपाल राष्ट्र रहोस्, यसको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन हुन सकोस्, हाम्रो गौरवपूर्ण इतिहास जस्ताको तस्तै प्रस्तुत होस् र अझ गौरवपूर्ण ढङ्गले अगाडि बढोस् । नेपालमा रहेका सामाजिक भेदभाव, असमानता, विकृति, पछौंटेपन, कुरीति, कुसंस्कारबाट नेपाली समाजलाई मुक्त गर्न सकियोस् र एउटा उन्नत सुशिक्षित सभ्य समाज निर्माण गर्न सकियोस् भनेर उहाँले आफ्नो जीवनभरि काम गर्नुभएको थियो ।
नेपाल जस्तो प्राकृतिक रूपले सुन्दर देशलाई आर्थिक हिसाबले पनि समृद्ध, समुन्नत बनाउन सकियोस् र त्यसको प्रतिफल, राष्ट्रिय उपलब्धि ती सबै – सबैका निम्ति होउन् भन्ने न्यायोचित भावनाका साथ उहाँले सङ्घर्षलाई अगाडि बढाउनु भएको थियो । यस्तो व्यक्तिको सन्दर्भमा आज हामी यहाँ चर्चा गरिरहेका छौं । पुष्पलाल श्रेष्ठ, उहाँलाई हामी पुष्पलाल मात्रै भन्ने गर्छौं । उहाँले आफ्ना ग्रन्थहरू, लेखहरूमा पनि नाम लेख्दा पुष्पलाल मात्रै लेख्नुहुन्थ्यो र हस्ताक्षर गर्दा पनि पुष्पलाल मात्रै भनेर हस्ताक्षर गर्नुहुन्थ्यो । बोलाउँदा वा बोलिचालीको भाषामा पनि पुष्पलाल मात्रै भनिन्थ्यो । वास्तवमा उहाँ पुष्पलाल नै हुनुहुन्थ्यो, एउटा लाल पुष्प ! नेपालको त्यति बेलाको पिछडिएको समाजमा पुष्पलाल, साच्चै पुष्पलाल हुनुहुन्थ्यो ।
पुष्पलालको जन्म रामेछापको भंगेरीमा भएको थियो । उहाँका पिता माता भक्तलाल श्रेष्ठ र तुल्सीमाया श्रेष्ठको दोस्रो सन्तानको रूपमा, उहाँ माइलो हुनुहुन्थ्यो । त्यसकारण उहाँलाई पछि भन्दा पनि माइलादाइ भन्ने चलन थियो । हुन त आजकाल यस्तो कम्युनिष्ट निस्किएका छन् दाइ भन्न नहुने, अङ्कल भन्न नहुने, बा भन्न नहुने भनेर असाध्यै चिडिन्छन्, रिसाउँछन्, कपाल लुछ्छन्, उफ्रिन्छन्, खुट्टा बजार्छन् । तर, नेपाली राजनीतिमा सानदाइ, माइलदाइ आत्मीय ढङ्गले भन्ने चलन थियो । पाटनमा काँइला बा भनिन्थ्यो, देवेन्द्रलाल नाम थियो । मैले उहाँलाई काँइला बा भनेर जानेको । हाम्रो यो चलनले आत्मीयता जनाउँछ । सबैले पुष्पलाललाई माइलदाइ भनेर पनि चिन्छन् । रामेछापबाट पछि उहाँहरू काठमाडौं आउनुभयो । यहीँका वासिन्दाका रूपमा बस्नुभयो । हामी सबैलाई थाहा छ, उहाँका दाजु –गंगालाल श्रेष्ठ । १९९७ सालमा राणाहरूले तथाकथित मृत्युदण्डको फैसला सुनाएर उहाँको जघन्य, निर्ममतापूर्वक शरीरका धेरै ठाउँ कहिले घुँडामा, कहिले तिघ्रामा गोली हानेर हत्या गरेर शोभा भगवतीमा भोलिपल्टसम्म उहाँको शरिरलाई प्रदर्शनीमा राखेर, नागरिकलाई त्रसित बनाएर हत्या गरेका थिए । गंगालालका भाइ हुनुहुन्थ्यो पुष्पलाल । गंगालालभन्दा दुईवर्ष कान्छो हुनुहुन्थ्यो । १९९३ साल जेठ २० गते नेपालमा पहिलो राजनीतिक संगठन स्थापना भएको थियो । राणा शासनलाई समाप्त पार्ने उद्घोष गर्दै १९९३ सालमा नेपाल प्रजापरिषद् स्थापना भएको थियो । स्थापना गर्दा गंगालाल अलिक कलिलै उमेरको हुनुहुन्थ्यो । उहाँ भर्खर १४ वर्ष जतिको हुनुभएको थियो । त्यसको दुई वर्षपछि १९९५ सालमा धर्मभक्त माथेमाको अगुवाईमा गंगालाल श्रेष्ठ र गणेशमान सिंह दुई जना शोभा भगवतीमा गएर रगतले हस्ताक्षर गरेर प्रजापरिषद्को सदस्यताको शपथ लिनुभएको थियो । त्यसपछि उहाँहरू निरन्तर काममा लागिरहनु भयो ।
गणेशमान सिंहको आफ्नो इतिहास छ । उहाँले पनि एउटा मूर्धन्य साहसिक योद्धाका रूपमा काम गर्नुभयो । गणेशमान सिंहले नेपालको राष्ट्रियताको आन्दोलनमा बहुतै ठूलो काम गर्नुभएको छ, परिवर्तनको अभियानमा मात्रै होइन । भारतमा २००३ सालमा अखिल भारत नेपाली राष्ट्रिय काँग्रेस भन्ने खुलेको थियो । गणेशमान सिंह जेल फोरेर भारत गएपछि २००४ सालमा अर्को राष्ट्रिय भेला भएको थियो । त्यस राष्ट्रिय भेलामा गणेशमान सिंहले अखिल भारत नेपाली राष्ट्रिय काँग्रेस नाममा आपत्ति गर्नुभयो– अखिल भारत किन ? नेपाली काँग्रेसका अगाडि यो भारतीय नाम कहाँबाट आयो ? भनेर उहाँले विद्रोह गर्नुभयो । उहाँले अखिल भारत भन्ने हटाउनुभयो र नेपाली राष्ट्रिय काँग्रेस मात्रै नाम राखेर त्यस पार्टीको आपूm एउटा सदस्य, एउटा नेता हुनुभयो । किन त्यस्तो भयो भने १९९७ सालपछि अत्यन्तै आतङ्कपूर्ण स्थिति रह्यो । १९९५ सालमा गीता प्रवचन गर्दै हिँडेका र गीता प्रवचनसँगै जागरणका केही सङ्केतहरू गर्दै हिँडेका शुक्रराज शास्त्रीलाई गीता प्रवचन गरेवापत, गीताको सही र जनपक्षीय व्याख्या गरेवापत, गीतालाई शासकीय स्वार्थको सेवामा समर्पित गर्न नमानेर फरक ढङ्गले जनताको हितमा प्रयोग गर्न खोजेवापत गिरफ्तार गरेर जेलमा हालिएको थियो । १९९५ सालदेखि जेलमा बसेका शुक्रराज शास्त्री प्रजापरिषद्का सदस्य पनि हुनुहुन्नथ्यो, प्रजापरिषद्सँग उहाँको सम्पर्क पनि थिएन । उहाँले प्रवचन गरेको गीता हो । १९९७ सालमा मृत्युदण्डको फैसला सुनाउँदा सबैभन्दा पहिले शुक्रराज शास्त्रीलाई बोलाइयो । न्यायाधीशहरू लस्करै बसेका थिए र सजाय पाउनेहरूलाई अगाडि नै राखिएको थियो उभ्याएर । उभ्याएर राखेकाले तीन कदम अगाडि बढ्नुपर्दथ्यो र सजाय सुन्नुपर्दथ्यो । त्यो सजायको सन्दर्भमा प्रतिक्रिया दिनुपर्दथ्यो । जानिनछु माफ पाउँ सरकार भन्ने कि, मैले स्वीकारे भन्ने कि, मलाई मञ्जुर छ भन्ने कि अथवा माफी मागेन भने त्यो स्वतः मञ्जुर हुन्छ । माफी मागेको भए के गर्थे थाहा छैन । तर, त्यहाँ माफी कसैले मागेनन् । राणाहरूले शुक्रराज शास्त्रीलाई सर्वस्वसहित मृत्युदण्ड (फाँसी) को सजाय सुनाए । शुक्रराज शास्त्रीले ॐ शान्ति ! भने र फनक्क फर्किएर आफ्नो लाइनमा गएर उभिए । अहिले पनि मलाई ॐ शान्ति ! भनेर ब्रह्माकुमारी बैनीहरूले भन्दा शुक्रराज शास्त्रीले फाँसीको सजाय सुनेर ॐ शान्ति ! भनेको सम्झना आउँछ । त्यसपछि लगातार फैसला सुनाइएको थियो । उमेरमा सबैभन्दा कान्छो भएको हुनाले गंगालाललाई अन्तिममा सर्वस्वसहित फाँसीको सजाय सुनाइएको थियो । सर्वस्वसहित फाँसीको सजाय, अंश सर्वस्वसहित फाँसीको सजाय, अंश सर्वस्वसहित जन्मकैद, सम्पूर्ण सर्वस्वसहित जन्मकैद, १८÷२० वर्ष जेल सजाय आदि सुनाइने गरेको थियो । त्यस बेलाको १८ वर्षको जेल सजाय भनेको मामुली कुरा थियो । मलाई १४ वर्ष जेलमा बस्दा सजिलो जस्तै किन लाग्थ्यो भने सिद्धिचरण श्रेष्ठले कविता लेख्दा ‘क्रान्ति’ भन्ने शब्द प्रयोग गरे । कवितामा ‘क्रान्ति’ भन्ने शब्द लेखिएको हुनाले सिद्धिचरणलाई १८ वर्षको जेल सजाय सुनाइएको थियो । एउटा कवि, जागरणका कविता लेख्ने कविले, भारतमा इन्क्लाव जिन्दावाद भन्ने गरिन्थ्यो, त्यही शब्दलाई इन्क्लाव होइन, क्रान्ति लेख्दा किन लेख्यौं ? भनेर, क्रान्ति भनेको पनि गादगादी ताक्ने नै कुरा हो, मान्छे भड्काउने कुरा हो, नयाँ जागरण ल्याउने कुरा हो, गादगादीलाई असुरक्षित बनाउने कुरा हो । गादगादी असुरक्षित बनाउने भनेको राणा शासनको अन्त्य हुने कुरा हो । त्यसकारण यस कविलाई १८ वर्ष जेल हाल्नु पर्छ भनेर सिद्धिचरण श्रेष्ठलाई १८ वर्ष जेल सजाय सुनाइएको थियो ।
गीता पढ्दा फाँसीको सजाय हुन्थ्यो, कवितामा क्रान्ति भन्ने शब्द लेख्दा १८ वर्षको जेल सजाय हुन्थ्यो । त्यस्ता समयहरूमा सङ्घर्ष गरेर आउनुभएको थियो गंगालालले । गंगालाल र गणेशमान दुई जनाले शोभा भगवतीमा एकैदिन एकैचोटी रातीको समयमा गएर औलाबाट रगत निकालेर सपथ लिनुभएको थियो– हामी प्रजापरिषद्प्रति, प्रजापरिषद्का उद्देश्यप्रति बफादार रहन्छौं, यी उद्देश्य पूरा गरिछाड्छौं र यो गोपनीयता कहिल्यै पनि खोल्दैनौं भनेर । उहाँहरूले त्यो कुराको पालना गर्नुभयो । मैले गणेशमानजीको अगाडि भनेँ– अहिलेको नेपाली काँग्रेस होइन, यो राष्ट्रिय नेपाली काँग्रेस बनाइएको थियो । यसको जन्म अखिल भारतीय नेपाली काँग्रेसबाट भएको हो । त्यसलाई गणेशमानले नाम परितर्वन गराएर अखिल भारतीय छोडेर नेपाली राष्ट्रिय काँग्रेस राख्नुभयो । त्यसपछि दिल्लीरमण, सुवर्ण शमशेरहरूको एकता हुँदा २००५ सालमा यसलाई नेपाली काँग्रेस मात्रै नाम राख्ने र नेपाली राष्ट्रिय काँग्रेसबाट नेपाली काँग्रेस बनाउने काम भएको थियो ।
आज मैले अमर शहीद गंगालाललाई सम्झिरहँदा एउटा ऐतिहासिक घटना सम्झनु पर्दछ । ऐतिहासिक र बहादुरीपूर्ण काम सम्झनुपर्छ । उहाँले नेपालको इतिहासमा रचना गर्नुभएको एउटा नयाँ अध्यायको स्मरण गर्नुपर्दछ । गंगालाल श्रेष्ठ १७ वर्षको कलिलै हुनुहुन्थ्यो । १९९७ साल मंसीर १३ गते इन्द्रचोकमा उहाँले नेपालको इतिहासमा पहिलो पटक मञ्च जस्तो केहीमा उभिएर भाषण गर्नुभयो । त्यो भाषण असाधारण उत्साहपूर्ण थियो । त्यसमा अन्य कविहरू, अन्य व्यक्तिहरू, ती व्यक्तिहरू पनि त्यसमा उत्साही ढङ्गले लागेका थिए । सम्भवतः केदारमान व्यथित त्यो सभामा हुनुहुन्थ्यो, अनेक नेताहरू हुनुहुन्थ्यो । गंगालालले मञ्चमा उभिएर–आज साहसिक व्यक्तिले, निडर व्यक्तिले, परिवर्तनकारी व्यक्तिले, शाहसिक भाषण गरेर नयाँ युगको प्रारम्भ गर्नेछ भन्ने उद्घोष गर्नुभएको थियो । त्यहाँ प्रतिकात्मक रूपले क्रान्तिको प्रतीकको रूपमा पान खाएर रातो मुख बनाएर गंगालालले भाषण गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो– अब अत्याचारी राणाहरूको जहानियाँ शासनको समय धेरै छैन, समाप्त भयो । अब नेपाली जनतामा जागरण आइसकेको छ । तपाईं सम्पूर्ण युवाहरू साथ दिनुस्, युवाहरूको तातो रगतले अब राणाहरूको शासनलाई अन्त्य गर्ने छ । जागरुक जनताले साथ दिनुस्, दाजुभाइ दिदीबहिनीहरूले साथ दिनुस्, राणा शासनको अब अन्त्य गरिने छ भनेर उहाँले भाषण गर्नुभएको थियो । योभन्दा अगाडि यस्तै व्यहोराका टंकप्रसाद आचार्यद्वारा लिखित वक्तव्य १९९७ साल साउन र भदौमा ४ वटा पर्चाहरू बाँडिएका थिए राणाहरूका विरुद्धमा । तिनै पर्चाहरूको राजनीति बोकेर, त्यसै प्रकारमा खुला भाषण इन्द्रचोकमा १९९७ साल मंसीर १३ गते गंगालालले गर्नुभएको थियो । त्यो नेपालको इतिहासमा पहिलो सार्वजनिक राजनीतिक भाषण हो । हामीले त्यसलाई एउटा कोशेढुंगाको रूपमा लिनसक्छौं । त्यसलाई साहसको प्रतीकको रूपमा, त्यति निरङ्कुश, त्यति स्वेच्छाचारी राणा शासनका विरुद्ध दिउँसै लुकेर होइन, इन्द्रचोक जस्तो सार्वजनिक ठाउँमा उभिएर एउटा १७ वर्षको ठिटाले चुनौती दिँदै राणा शासनको अन्त्यको शङ्खघोष गर्दै भाषण गरेका थिए । म गंगालालप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । अरू शहीदहरूलाई पनि म स्मरण र श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
म भन्न चाहन्छु, इन्द्रचोकको त्यो ऐतिहासिक दिनलाई मनाउने गर्नुपर्छ । काठमाडौं जिल्लाको ध्यान जाओस्, सम्पर्क मञ्चको, सम्पर्क कमिटीको पनि ध्यान जाओस् । इन्द्रचोक एउटा यस्तो ठाउँ हो, जसले एउटा इतिहास बोकेको छ । एउटा जागरणको इतिहास बोकेको छ, एउटा शङ्खघोषको थलो हो, एउटा नयाँ युगको शङ्खघोषको थलो हो । पहिलो राजनीतिक भाषणको थलो हो । पहिलो त्यसप्रकारको उन्नतस्तरको साहस, राणा शासनका विरुद्ध एउटा निहत्थाले त्यत्रो उद्घोष गरेको थलो हो । त्यसकारण इन्द्रचोकलाई मंसीर १३ गते प्रथम र ऐतिहासिक भाषणको स्मरण र सम्मानमा अहिलेको परिवर्तित समाजले स्मरण र सम्मानमा कुनै न कुनै प्रकारको कार्यक्रम सञ्चालन गर्नु वाञ्छनीय हुन्छ भन्ने मलाई लाग्छ ।
मैले पुष्पलालको पारिवारिक पृष्ठभूमि अलिकति भन्न खोजेको हो । उहाँको दाजु नै त्यस्तो हुनुहुन्थ्यो । पुष्पलालले आफ्ना दाजु लगायतका शहीदहरूको सहादत, उहाँहरूलाई कसरी झुण्ड्याएर, गोली ठोकेर मारियो पचली, सिफल र शोभाभगवतीमा, ती कुराहरूलाई आफैंले अनुभव गर्नुभएको थियो । त्यसपछि उहाँले शहीदका उद्देश्यहरूलाई कहिल्यै पनि मर्न दिनुभएन । त्यसपछि टंकप्रसाद आचार्य, रामहरि शर्मा, गणेशमान सिंह लगायत सयौं व्यक्तिहरू कोही मारिए, कोही जेलमै मरे, जेलमै मारियो, कोही आजीवन कारावासको सजाए भोगेर बसे । गणेशमान सिंहहरूलाई अहिलेको भद्रगोल जेलमा थुनिएको थियो । गणेशमान जेलबाट भाग्नुभयो । त्यसपछि टंकप्रसाद आचार्य, रामहरि शर्मालाई २७ महिना गोलघरमा हालिएको थियो । नेपाली राजनीतिको परिवर्तनको सन्दर्भमा टंकप्रसाद आचार्य, रामहरि शर्मा लगायत बस्नुभएको गोलघरमा, केन्द्रीय जेल, भद्रगोल जेलमा चार वर्षसम्म बिताउने नौमत मलाई पनि आइपरेको थियो ।
आज स्थितिमा परिवर्तन आएको छ । हामी यसरी खुला वातावरणमा पुष्पलाल स्मृति दिवस मनाइरहेका छौं । २०३५ सालमा पुष्पलाल भारत निर्वासनमा भएकै बखत उहाँको निधन भएको थियो । उहाँको मृत शरीरलाई पनि नेपाल ल्याउन दिइएन । उहाँको मृत शरीर ल्याउने कुराबाट पनि तत्कालीन पञ्चायती शासकहरू भयभित भएका थिए । पुष्पलालको पार्थिव शरीरलाई पनि ल्याउन दिइएन जब कि वीपी कोइराला, गणेशमान सिंहहरू नेपाल फर्किसकेको अवस्था थियो । पुष्पलाललाई जिउँदो हुँदा आउन नदिनु एउटा कुरा थियो, मृत्यु भइसकेपछि पनि पुष्पलालको शरीरलाई नेपाल ल्याउन दिइएन । भारतको यमुना किनारमा उहाँको अन्त्येष्टी गर्नुपरेको थियो । एउटा महान् योद्धा, महान् विचारक, महान् जनताका नायकलाई नेपाल प्रवेश गर्न मात्रै होइन, उहाँको मृत शरीरसमेत ल्याउन नदिए पनि उनीहरूले आफ्नो शासन भने टिकाउन सकेनन् । त्यसरी प्रतिबन्ध लगाउने तानाशाही र निरङ्कुश राजतन्त्र अर्थात् राजतन्त्र दुईवटै आज नेपालबाट लखेटिइसकेका छन् । हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा पुगेका छौं । मैले पुष्पलाललाई निर्वासनमा कष्टपूर्ण जीवन बिताएर मृत शरीरसम्म स्वदेशमा भित्र्याउन नदिने तानाशाहीहरूसँगको सङ्घर्षमा आफ्नो जीवन दिएर नेपाललाई यहाँसम्म ल्याउन चेतना र संगठनको फैलावट विस्तार गर्ने नेपाली जनताका महान् नायकका रूपमा स्मरण गर्न खोजेको हुँ । उहाँले थुप्रै चेतनाजन्य कामहरू, अन्धविश्वास र भ्रमहरूबाट नेपाली समाजलाई मुक्त पार्ने, नेपालको किम्वदन्तीबाट वास्तविक इतिहासतर्फ नेपाली जनतालाई लाने, नेपालको साँचो इतिहासमा लाने नायकका रूपमा स्मरण गर्न खोजेको हुँ ।
तपाईंहरूलाई लाग्ला, मैले नेपालको इतिहासको सन्दर्भमा केही जानेका सत्य कुराहरू फ्याट्ट भन्ने गर्छु । मैले इतिहासलाई किम्वदन्तीबाट यथार्थमा ल्याउनुपर्छ, राजा–महाराजाका इतिहास सम्बन्धी वनावटी कथाहरूबाट इतिहासलाई वास्तविकतामा फर्काउनुपर्छ । हामीले हाम्रा पूर्वजहरूले गरेका वास्तविक काम र योगदानहरूको जानकारी पाउनुपर्छ । राजा–महाराजाहरूका गीत गाउने, स्वस्ती वाचनका तथाकथित इतिहास भए । हामीले दशरथ चन्दका बारेमा जानकारी पायौं । दशरथ चन्दका हजुरबुबा, उनका दाजु, भाइहरूलाई राणाहरूले राणाशासन अस्वीकार गरेवापत हत्या गरेका थिए । यो लगभग १९०४ सालतिरको कुरा हो । अछामका बाकावीरले विद्रोह गर्दा गिरफ्तार गरेर उनको टाउको कटाएर बुझाउन काठमाडौं ल्याउनु भनेका थिए । बडो सङ्घर्षपूर्ण ढङ्गले वर्षौ लगाएर उनलाई झुक्काएर टाउको कटाउने काम गरेका थिए । काठमाडौंमा प्रमाणका लागि काटेको टाउको देखाउन ल्याएका थिए । उनका साथमा अरू पनि मारिए तर उनीहरूको चर्चा भएन ।
त्यसभन्दा अगाडि नै दशरथ चन्दका हजुरबुबाहरूको हत्या गरिएको थियो । उहाँहरूले सहादत प्राप्त गर्नुभएको तिथिमिति अझै खोज्नुपर्छ । हामीसँग अलिकति समय हुँदैन, म इतिहासकारहरूलाई खोजी गर्न आग्रह गर्दछु । को पहिला मारियो र कसले पहिले शहादत प्राप्त गर्यो भन्ने जातीय विषय होइन, यो राष्ट्रिय विषय हो । यो राष्ट्रिय आन्दोलनको, सामाजिक परिवर्तनको विषय हो । जातको शहीद हुँदैन, देशको शहीद हुन्छ, राष्ट्रको शहीद हुन्छ । त्यसकारण म सबै दाजुभाइ, दिदी–बहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने– जो पहिले मारियो उ पहिलो शहीद, जो दोस्रो मारियो उ दोस्रो शहीद, अलिक पछि मारियो शहीद । सबै शहीद हुन्, सबै शहीदहरू महान् छन् । हामी तानाशाह शासकहरूबाट मारिएका शहीदहरू चाहे ती दुर्गानन्द झा हुन् अथवा रामनाथ दाहाल, नेत्र घिमिरे, कुष्ण कुइँकेल, नारायण श्रेष्ठ होउन् अथवा नेत्र गुरागार्इं होउन् अथवा हरि नेपाल वा चन्द्र डाँगीहरू होउन्, क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठहरू होउन् अथवा भीमदत्त पन्त होउन् अथवा ठगी दाहाल, लीला दाहाल, गोकर्णहरू होउन् कुनै पनि शहीदको सम्बन्धमा हामी उत्तिकै सम्मान गर्दछौं । उहाँहरूले दिएको जीवन व्यक्तिगत स्वार्थका निम्ति होइन, आफ्ना निम्ति हो । त्यसकारण शहीद यो पार्टीको र त्यो पार्टीको भन्ने हुँदैन । कुनै पार्टीमा लागेर काम गर्दा शहादत प्राप्त गरेको हुनसक्छ तर शहीद भएपछि एउटा पार्टी विशेषको, परिवार विशेषको, जाति विशेषको, समुदाय विशेषको होइन, राष्ट्रिय शहीद हुन्छ । त्यसैकारण मैले भीमदत्त पन्तदेखि लिएर शहीदहरूको पङ्क्तिमा पछिल्लो समयसम्म शहादत प्राप्त गरेका शहीदहरू मध्ये केही शहीदहरू जो तत्काल जानकारीमा आएका थिए, ती शहीदहरूलाई शहीदको दर्जा दिने निर्णय तोकेर मन्त्रिपरिषद्बाट गरेको थिएँ ।
काँग्रेस धेरै पटक सरकारमा गयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन । किनभने काँग्रेसले नै भीमदत्तको टाउको कटाएको थियो । काँग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१० सालमा भीमदत्त पन्तको टाउको काटेर झुण्डाइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिंङ हुन्छ । विद्यार्थी नेता चिनियाँकाजीको नाम लिँदा सिरिंङ हुन्छ । दुर्गानन्द झाले काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडिमाथि बम हानेका थिए । हानेका थिए कि थिएनन्, आप्mनो ठाउँमा छ । हानेका थिए भने पनि परिवर्तनका लागि हानेका थिए । तर नेपाली काँग्रेसले त्यसको स्वामित्व कहिल्यै पनि लिएन र उनलाई विधिवत केन्द्रीय जेलको गोलघरमा राखेर फाँसी दिइएको थियो । तर, काँग्रेसले उनलाई शहीद घोषणा गरेन, शहीद मानेन । नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठहरूलाई फाँसीको सजाय सुनाइएको थियो ।
म आज कसैको आलोचना गर्न चाहन्नँ तर सत्ता स्वार्थका लागि, राजनीतिक स्वार्थका लागि यस्ता परिस्थितिहरू पनि देखिए, जहाँ आफ्नै पार्टीका आदरणीय नेताहरूलाई विधिवत फैसला सुनाएर, फाँसीको सजाय सुनाएर दुर्गानन्दलाई झुण्डाएर, क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायणहरूलाई गोली ठोकेर मारियो, नेपाली काँग्रेसले त्यसको विरुद्ध एउटा वक्तव्य र प्रतिक्रिया समेत दिन सकेन । त्यो चाहिँ दुःखलाग्दो, शरमलाग्दो विषय हो । नेपाली काँग्रेसले नदिए पनि नेपाली जनताले उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्छन्, श्रद्धाञ्जलि दिन्छन् र सिंगै राष्ट्रले शहीद मान्छ ।
म पुष्पलालको सन्दर्भमा भनिरहेको थिए । पुष्पलाल एउटा महान् व्यक्ति, नवीन चिन्तक हुनुहुन्थ्यो । १९९७ सालको आन्दोलन दमित भएपछि, प्रजापरिषद्का गतिविधिहरू ठप्प भएपछि, प्रजापरिषद् सांगठनिक रूपले छिन्नभिन्न भएपछि देशमा (यद्यपि पछि टंकप्रसाद आचार्यहरूले २००७ सालपछि फेरि प्रजापरिषद्लाई जगाउनुभयो । त्यो आफ्नो ठाउँमा छ ।), मारिने मारिए, जेल हालिने हालिए एउटा आतङ्क र आतङ्कको सन्नाटा छायो । भित्रभित्रै भुसको आगो हुँदो हो तर बाहिर आतङ्कको सन्नाटा थियो । १९९७ सालमा फाँसी काण्डहरू भएका थिए, त्यस्तो बेलामा पुष्पलाल श्रेष्ठ लगायतको अगुवाइमा १९९८ सालमा नेपाल प्रजातन्त्र संघ भन्ने संस्था खोल्नुभयो । पछि त्यही नेपाल प्रजातन्त्र संघमा गोपालप्रसाद रिमाल, सहाना प्रधान, साधना प्रधान लगायतका थुप्रै साथीहरू २००२ सालमा गएर त्यसमा आबद्ध हुनुभएको थियो । गोपालप्रसाद रिमालले २००१ सालमा आफ्नै एउटा संस्था पनि खोल्नुभएको थियो । इतिहास गोलमाल भएको छ । १९९८ सालको प्रजातन्त्र संघको स्थापनाको कुरा आउँदैन । पुष्पलाल यसै पनि १९९७ साल र यसै प्रजापरिषद्का नेताहरू भन्दापछि पुष्पलाल श्रेष्ठ, गंगालाल श्रेष्ठ हलुवाई भन्ने अर्को हुनुहुन्थ्यो, जसले २००३ सालमा लालकम्युनिष्ट भन्ने स्थापना गर्नुभएको थियो । यस्ता इतिहासहरू मेटिएका छन् । गोपालप्रसाद रिमालहरूको संगठनात्मक र आन्दोलनकारी इतिहास, साहित्यमार्फत अगाडि बढाएका आन्दोलनका इतिहास मेटिन थालेकाछन् । सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, धरणिधर कोइरालाहरूको जागरण मेटिन थालेका छन् । यिनै जागरणका प्रेरणाबाट आन्दोलनको मुस्लो भित्र–भित्र सल्किँदै गएको थियो । त्यसैको परिणामस्वरूप संगठनहरू खुल्ने सिलसिलामा २००३ सालमा वीपी कोइरालाहरू समेत भएर अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस खुलेको थियो । त्यसमा पुष्पलालहरू हुनुहुन्थ्यो । पछि २००४ मा गणेशमानले अखिल भारतीय नेपाल राष्ट्रिय काँग्रेसलाई नेपाली राष्ट्रिय काँग्रेसमा परिणत गराएको कुरा मैले अघि भनेँ । पुष्पलाल त्यसमा पनि संगठित हुनुहुन्थ्यो । पछि २००५ सालमा केही समय उहाँ राणाशाही विरोधी आन्दोलनलाई प्रभावकारी ढङ्गले लानका लागि नेपाली राष्ट्रिय काँग्रेसमा आबद्ध हुनुभयो । तर, नेपालमा कम्युनिष्ट आन्दोलनको, कम्युनिष्ट पार्टीको विजारोपण पुष्पलालले नेपाल प्रजातन्त्र संघ स्थापना गरेबाट भएको हो । त्यसपछि गंगालाल श्रेष्ठ हलुवाई, उहाँले २००३ सालमा लालकम्युनिष्ट भन्ने संस्था स्थापना गर्नु भएको थियो । यिनै आन्दोलनहरू र भारतमा रहेका र काम गरिरहेका आन्दोलनको प्रभावस्वरूप २००३ साल फागुनमा नेपालमा मजदुर आन्दोलन मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाहरूले शुरु गर्नुभएको थियो । कतिपयलाई लाग्ला गिरिजाप्रसाद कोइराला काँग्रेस पनि मजदुर आन्दोलनमा रहेछन् भन्ने, त्यसो होइन । त्यतिबेला गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित हुनुभएको थियो र उहाँ कम्युनिष्ट कार्यकर्ता हुनुहुन्थ्यो । कम्युनिष्टको हैसियतले उहाँ मजदुर आन्दोलनमा लाग्नुभएको थियो । उहाँ मजदुर आन्दोलनमा लागेको कम्युनिष्ट भएर हो, काँग्रेस भएर होइन । पछि २००५ सालमा वीपी कोइरालाले उहाँलाई काँग्रेस बनाउनुभएको थियो । गणेशमानजी सङ्घर्षशील मान्छे हो, कहिल्यै पनि काँग्रेस होइन । उहाँ अखिल भारतीय राष्ट्रिय काँग्रेसलाई अखिल भारतीय हटाएर राष्ट्रिय नेपाली काँग्रेस बनाउने मान्छे हो । यसरी एउटा नयाँ युगतर्फका प्रयासहरूलाई यस दिनमा हामी स्मरण गरिरहेका छौं र पुष्पलालका योगदानहरूलाई स्मरण गरिरहेका छौं ।
भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिनु नेपालमा संगठन खोल्ने परिस्थिति नभएर होइन । पुष्पलालले अरू तीन जना साथीहरूलाई लिएर कलकत्ताको श्याम बजारमा जम्मा हुनुभएको थियो । त्यहाँ कम्युनिष्ट पार्टीको स्थापनाको घोषणा गर्नुभयो । तर, त्यो कुरा फेरि नेपालमै आएर उहाँहरूले पर्चा छर्नु भयो र हामीले कम्युनिष्ट पार्टी यसरी स्थापना गर्यौं भनेर छ महिनापछि भन्नुभयो । त्यतिबेला चारजनाले स्थापना गर्नुभयो र त्यहाँ मोतीदेवीलाई पनि संस्थापकको रूपमा मान्यता दिने भन्ने भयो । उहाँहरूले पार्टी स्थापना गरेपछि पर्चा छर्ने बेलासम्ममा अथवा १५ सेप्टेम्बरसम्ममा मोतीदेवी पनि हाम्रो कुरासँग सहमत हुनुहुन्थ्यो, त्यसकारण उहाँलाई पनि संस्थापक मान्ने भनेर उहाँहरूले निर्णय गर्नुभयो । कलकत्ताको श्याम बजारमा अप्रिल २२ मा चारजना बसेर स्थापना गरिरहँदा मोतीदेवीको उपस्थिति नभएर पनि, उहाँ नेपालमै हुनुभएको भए पनि पुष्पलाल लगायतका संस्थापकहरूले उहाँलाई पनि संस्थापक मान्ने भनेको हुनाले हामीले त्यस कुरालाई अहिलेसम्म मान्यता दिएरै आएका छौं ।
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । परिस्थिति अत्यन्तै जटिल थियो । १९९८ सालमा नेपाल प्रजातन्त्र संघ नेपालमै खोल्न सक्ने मान्छेले कम्युनिष्ट पार्टी खोल्न कलकत्ता जानुपर्दथ्यो भन्ने होइन । उहाँहरूले यहीँ खोल्नु हुन्थ्यो, यहीँ गतिविधि गर्नुहुन्थ्यो, यहीँ गतिविधि गरेकै हो । एउटा प्रचलन के थियो भने नेपाली काँग्रेसले अलिकति आन्दोलनमाथि उठ्यो भने ठ्याक्क आएर जस लिने । २००४ सालमा मजदुर आन्दोलन यहाँ उठेपछि वीपी कोइराला भारतबाट मजदुर आन्दोलनको नेतृत्व गर्ने भनेर आउनुभयो । उहाँ आएपछि उहाँहरू गिरफ्तार पर्नुभयो र २००४ सालमा मजदुर आन्दोलन पनि सिद्धियो । तर पुष्पलाल श्रेष्ठमाथि अरू शासकहरूले ज्यादती त गर्थे–गर्थे, आफ्नै साथीहरूले पनि ज्यादती गरे । पुष्पलालहरूले नै पार्टीमा समावेश गरेका सम्भ्रान्त ठिटाहरूले पार्टी कब्जा गर्ने नीति लिए र पुष्पलाललाई महासचिवबाट हटाए । पुष्पलालले कसरी पार्टी खोल्नुभएको थियो, कसरी अगाडि बढाउने सोच्नुभएको थियो, त्यो कुरालाई ख्याल नगरेर, उहाँलाई अलिकति पनि काम गर्न नदिएर २००७ सालको आन्दोलन सफल हुने बित्तिकै र पार्टी खुला हुने बित्तिकै उहाँलाई हटाउन अभ्यास शुरू गरे । २००८ साल मंसीरमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उनले कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाए । २००८ सालमा उनी प्रधानमन्त्री भएदेखि लागेको प्रतिबन्ध ०१२ सालसम्म पूरै चार वर्षभन्दा बढी कम्युनिष्ट पार्टीले प्रतिबन्धित अवस्थामा काम गर्नुपर्यो । राणाशासन भन्दा काँग्रेसको शासन कम्युनिष्टलाई केही फरक परेन । काँग्रेसको शासनमा प्रतिबन्धित अवस्थामा अखिल नेपाल महिला संघ, किसान संघ, विद्यार्थीहरूका संगठनहरू बनाएर कम्युनिष्ट पार्टीले काम गर्नुपर्यो । अर्कातिर पुष्पलाललाई काठमाडौंबाट हटाउने षडयन्त्र शुरू भयो र देशको मध्य भागमा हुनुपर्छ कार्यालय भनेर रामपुरमा पार्टी कार्यालय सारे । त्यस बेलाको यातायात, त्यस बेलाको सञ्चारमा रामपुरमा कार्यालय राखिदिएपछि पार्टीको काम कसरी भयो होला ? २००८ सालको मध्यतिर पुष्पलाललाई हटाउने षडयन्त्र शुरू भइसकेको थियो । २००८ सालको चैततिर पुग्दा पोलिटव्युरोको एउटा खेलौना बनाएर त्यसबाट हटाउने निर्णय गरेर विधिवत २०१० सालको पहिलो महाधिवेशनबाट पुष्पलाललाई हटाइयो, मनमोहन अधिकारीलाई अध्यक्ष बनाइयो । पुष्पलाललाई महासचिवबाट वैचारिक हिसाबले, क्रियाशीलताको हिसाबले, संगठनको हिसाबले वा कुनै हिसाबले पनि हटाउनु उपयुक्त थिएन, हटाउनु हुँदैनथ्यो । तर, उहाँलाई षडयन्त्रपूर्वक हटाएको देखिन्छ । त्यसपछि पनि पुष्पलाललाई संगठनको नेतृत्वदायी स्थानमा, नेतृत्वकर्ता स्थानमा आउन दिएनन् । २०१४ सालको दोस्रो महाधिवेशनमा अर्को भयानक षडयन्त्र गरेर पुष्पलाललाई हटाइयो । तेस्रो महाधिवेशनमा पनि पुष्पलाललाई महासचिव बनाउन दिइएन । खास नेतालाई खास ठाउँमा आउन नदिएपछि नेपालको कम्युनिष्ट आन्दोलन विभाजित भयो र कमजोर स्थितिमै रहन पर्यो ।
हामी देख्छौं– मदन भण्डारी महासचिव नभएसम्म नेकपा माले लरङतरङ हालतमा थियो । मदन भण्डारी महासचिव हुने बित्तिकै काँग्रेससँग सहआन्दोलन आयोजना गर्ने, सहकार्य गर्ने, पञ्चायती तानाशाही फाल्ने, राजतन्त्रलाई निरङ्कशुतन्त्रबाट संवैधानिक तन्त्रमा बदल्ने, पार्टी व्यवस्था खुला गर्ने, बहुदलीय लोकतान्त्रिक प्रणाली ल्याउने, नयाँ संविधान जारी गर्ने उधुमको परिवर्तन केही महिनाभित्रै भयो । त्यो मदन भण्डारीको सशक्त नेतृत्वमा हुनसक्यो । नेतृत्वको अर्थ त्यसमा हुन्छ । तर, पार्टी स्थापना हुने बित्तिकैदेखि कम्युनिष्ट पार्टीले सहभागिता लियो २००७ सालको आन्दोलनमा, त्यसको जस उसलाई दिइएन । किनभने अन्तर्राष्ट्रिय समर्थन र सञ्चार माध्यम आफ्नो हातमा थिएन । २००७ साल चैतमा रेडियो प्रजातन्त्र विराटनगरमा शुरू भयो । त्यसले काँग्रेसको बाहेक अरूको प्रचार नै गरेन । तर, त्यसका संस्थापकलाई पहिलो पटक म प्रधानमन्त्री हुँदा तारिणीप्रसाद कोइरालाको स्मरणमा विराटनगरमा सञ्चारग्राम स्थापना गर्दिएँ । यसर्थ हामीले हाम्रा अग्रजहरूलाई सम्मान गरिरहँदा फराकिलोपनका साथ अगाडि बढ्नुपर्छ ।
म सबै साथीहरूलाई पुष्पलालका विचार, कामहरू, योगदानको प्रेरणा लिएर हामी आज यस ठाउँमा आइपुगेका छौं । पुष्पलालले विभिन्न उतार चढाव हुँदै गरेको संगठन, गंगालालको विरासत, गंगालालको प्रेरणा, प्रजापरिषद्को बलिदान, प्रजापरिषद्ले देखाएको परिवर्तनको झिल्को, त्यसलाई लिएर १९९८ मा गरिएको प्रजातान्त्रिक संघको गठन, त्यसका उद्देश्यहरू, त्यस अनुसार अगाडि बढ्दै कम्युनिष्ट पार्टीको सानो रूपमा मात्रै स्थापना भएको थियो । आज देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तारित, परिवर्तनकारी र सबैभन्दा सबल शक्तिको रूपमा, सबैभन्दा बलियो शक्तिको रूपमा पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) आज यस ठाउँमा उभिएको छ, मजबुत शक्तिको ठाउँमा उभिएको छ ।
यस पार्टीको अध्यक्षको हैसियतले म भन्न चाहन्छु, पुष्पलाल र अरू शहीदहरू, अरू अग्रजहरूले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौं । नेपाली समाजलाई समृद्ध नेपाल सुखी नेपाली, सार्वभौमसत्ता सम्पन्न नेपाली, स्वतन्त्र नेपाली यस हैसियतमा समृद्ध नेपाल सुखी नेपाली बनाएर छोड्ने सङ्कल्प फेरि आज दोहोर्याउँछु। यही सङ्कल्पका साथ म फेरि सबै साथीहरूलाई उपस्थितिका लागि धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । आज पार्टी प्रवेश गर्नु हुने साथीहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्दै, शुभकामना भन्दै अन्त्यमा पुष्पलालप्रति श्रद्धासुमन अर्पण गर्दै, आयोजकहरूलाई धन्यवाद भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु । धन्यवाद ।
(नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७९ साल साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालको ४४औं स्मृति दिवसमा व्यक्त गर्नुभएको विचारको सम्पादित पूर्णपाठ)