
सर्वप्रथम भ्रष्टचार रोक्छु भन्ने प्रचण्ड र आरजुका छौडाहरुलाई सडकबाट लखेटौं, प्रहरीलाई काम गर्न दिउँ । पुण्यप्रसाद प्रसाई अमेरिकाले राष्ट्रघाती सम्झौता एमसीसी जबरजस्ती नेपाललाई लादने चाहेको थियो । यो प्रोजेक्ट नेपाल ल्याउनुमा अमेरिकाको खास उद्देश्य थियो, चीन घेर्ने र आइएनजीओहरुमा एमसीसीको पैसा तिव्र रुपमा लगानी गरेर यहाँका भाडाका बुद्धिजीवी मार्फत अमेरिकाको पक्षमा र चीनको विरुद्धमा माहोल बनाउने, जसरी उसले रुस विरुद्ध युक्रेनमा माहोल बनाएको थियो ।
ढिलो गरी बुझे पनि एमसीसी कालान्तरमा नेपालको अस्तित्व समाप्त गर्ने सम्झौता हो भन्नेमा स्पष्ट भएपछि नेपालीहरु सडकमा निस्कन थाले । एमसीसीका विरुद्धमा जनताहरुले सडक तताउन थालेपछि यसलाई सदनबाट पास गर्न खुट्टा उचालिरहेकाहरु तर्से । सबैभन्दा गाह्रो उनै दहीचिउरे प्रचण्डलाई भयो । तर उनले चाँडै यसको गाँठो फुकाए । एमसीसी रोक्छु भन्दै उत्साहका साथ सडकमा निस्केका सच्चा देशभक्त नागरिकको स्वरलाई नै ओझेलमा पारेर उग्र राष्ट्रवादी बन्दै प्रचण्डका छौडाहरुले सडक कब्जा गरे ।
देश जोगाउने त प्रचण्ड नै रहेछन् भनेझैं सबै देशभक्तहरु विस्तारै विस्तारै सडकबाट हट्दै गए । सडक प्रचण्डका छौडाहरुको नियन्त्रणमा गयो र अन्त्यमा माओवादी, कांग्रेस र एमाले तिनै दलका भस्मासुरहरु मिलेर एमसीसी पास गरे । उता स्यालको सिङ हराएजस्तो प्रचण्डका छौडाहरु सडकबाट गायब भए ! एमसीसीको विरोधमा बोल्ने चरोमुसो सडकमा भएन किनकि हामीले पहिल्यै छौडाहरुलाई सडक बुझाइ सकेका थियौं । अहिले फेरि कांग्रेस र माओवादीका छौडाहरु भ्रष्टचार रोक्ने भनेर सडकमा प्रचण्ड तिमी अघि बढ भन्दै ताण्डव देखाउन थालेका छन् तर असली नियत अर्कै छ । बाबुराम र हिसिला जस्ता महाभ्रष्टको अवार्ड जितिसकेकाहरु आफूलाई चोख्याउने दाउमा छन् । उता माइतिघर होइन सिधै सिंहदरबार जाने हो भन्नेहरु पनि सिंहदरबार छोडेर प्रचण्डका छौडाहरुसँग सडकमा देखिन थालेका छन् । केही दिनपछि सडकमा भ्रष्टचार विरुद्धको नारा लाउने केवल तिन दलका छौडाहरु मात्र हुनेछन् ।
विचरा प्रहरीले जति नै मेहनत गरेर प्रमाण बटुले पनि राजा जोगाउन जेल गएका मन्त्रीहरुलाई अदालतले केही लाख रुपैयाँ धरौटी लिएर बाइज्जत रिहा गरिदिन्छ, कास्टिङ त देखिहाल्नु भयो बालकृष्णजीको हातमा हत्कडीसम्म छैन! टोपेजीहरुलाई हत्कडी लगाउन सक्छन् त्यो बेग्लै कुरा हो । विस्तारै राज्य विरुद्धको यो अपराधलाई देवानी कसुरमा परिवर्तन गरिन्छ र साना माछाहरु २ वर्ष जेल बसेर पैसा पचाउछन् । जनता हेरेको हेरै । आन्दोलनको आँधीबेरी नउठाएसम्म यो देश ३ दलका चोरहरुले कब्जामा लिएर लुटिरहन्छन्, चौथो दल पनि मिसिन खोजिरहेको छ । मलाई पनि मिटिङमा बोलाउनु पर्यो भन्दैछ । खाने मुख जति थपिन्छन् कमाएर खुवाउनु पर्नेलाई उति नै गाह्रो हुन्छ । जनतालाई अब झन्झन् गाह्रो हुँदै जान्छ । जय सचेत नेपाली ।




























