
काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिनुभएको हो ।सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले काठमाण्डौ महानगरभित्रका सबै विद्यालयहरुमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यदि कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने उहाँको चेतावनी छ । उहाँले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिनुभएको छ ।उहाँले नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने बताउनुभएको छ ।यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर शाहले चेतावनी दिनुभएको छ ।




























