
राष्ट्रिय स्तरको स्वास्थ्य पुनःस्थापना केन्द्र नहुँदा दुर्घटनामा अंगभंग भएका बिरामीको उपचारमा समस्या देखिएको छ ।मुख्य गरी दुर्घटनामा परेर अंगभंग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो । सरकारको आफ्नो पुनःस्थापना केन्द्र नभएकोले बिरामीले निजी पुनस्थापना केन्द्रमा महँगोमा उपचार गराउन बाध्य बनिरहेका छन् । स्पाइन इन्जुरी, हेड इन्जुरीहरु, क्यान्सर, हड्डीको बिरामीहरुले अस्पतालको उपचारपछि पनि तोकिएको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालले यस्तो उपचार चिकित्सकको निगरानीमा वा सल्लाहमा पुनःस्थापना केन्द्रमा राखेर उपचार गराउँदा बिरामी छिटो निको हुने बताउनु भयो । उहाँले हालसम्म नेपालमा सरकारी स्तरमा पुनःस्थापना केन्द्र नरहेको जानकारी दिनुभयो । पुनःस्थापना केन्द्र नहुँदा बिरामीहरु निजी स्वास्थ्य संस्थामा महंगो रकम तिरेर उपचार गराउन बाध्य रहेको बताउनु भयो । दुर्घटनामा परेर उपचारमा आएका बिरामीले सहज जीवनयापनमा फर्कन पुनःस्थापना केन्द्रमा रहेर नै उपचार गराउनुपर्ने भएकोले सरकारले छिटो भन्दा छिटो पुनःस्थापन केन्द्र निर्माण गर्नुपर्ने डा. रिजालले बताउनु भयो ।दुर्घटना पछिको आकस्मिक उपचार पछिका बिरामीले पूर्ववत अवस्थामा फर्कन वा जीवनशैलीलाई सहज बनाउन विभिन्न प्रकारको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । यो लामो समय लाग्ने उपचारको प्रक्रिया हो । अहिलेसम्म सरकारको आफ्नो छुट्टै पुनःस्थापना केन्द्र छैन । ललितपुरको गोदावरी नगरपालिकाले पुनःस्थापना केन्द्र निर्माणमा चासो देखाएको छ । नगरपालिकाको वडा नं. १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्र भित्र पुनःस्थापना केन्द्र निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ । गोदावरी नगरपालिकाले नगरपालिकाले पुषमा एक निर्णय गर्दै वडा नं. १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्रभित्र बन्द भएको पुरानो ढुङ्गा खानी क्षेत्रको करिव सय रोपनी जग्गा पुनःस्थापना केन्द्र निर्माणकोलागि उपलब्ध गराउने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालले निर्माणको लागि थप प्रक्रिया अघि बढाउनका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आग्रह पत्र पठाएको पनि बताउनु भयो । सरकारले प्राथमिकतामा राखेर छिटो निर्णय गर्नुपर्ने डा. रिजालले बताउनु भयो ।नेपालमा दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सबैभन्दा धेरै सडक दुर्घटना छ । दुर्घटना पछिको मृत्यु हुने दर सबैभन्दा धेरै छ । धेरै सडक दुर्घटना हुने भएकोले अन्य दुर्घटनाको अभिलेख व्यवस्थित रहेको पाइँदैन । कृषि क्षेत्र, औद्योगिक क्षेत्र, निर्माण क्षेत्रमा हुने दुर्घटनाका तथ्यांकमा आधारित समाचारमा खासै आउँदैनन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७९÷०८० मा सवारी दुर्घटनामा परेका एक लाख एक हजार ९४७ घाइते अस्पताल पुगेका छन् । विभागको तथ्यांकअनुसार ९४ हजार ६ सय ६५ घाइते अस्पतालका ओपिडी र गम्भीर घाइते भएका सात हजार दुई सय ८२ इमर्जेन्सीमा पुगेका छन् । ०७९÷०८० मा दुई हजार आठ सय ८३ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ ।




























