
धनगढी, चैत १८ गते । सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ । भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो । कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।वैशाख १ गते नयाँ वर्षको दिन सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिएको छ । पर्व मनाउन घर फर्किनेहरूको सिमानाकामा चेकजाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ ।प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले चैतमा अझ बढी कोरोना सङ्क्रमण देखा परिरहेको देखाएको छ । चैतको १८ गतेसम्म ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले जानकारी दिनुभयो ।उहाँका अनुसार माघमा १५ र फागुनमा ३२ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । “चैतमा कोरोना सङ्क्रमण अझ उकालो लागेको छ” निर्देशक डा. जोशीले भन्नुभयो ।पछिल्लो एक सातामा ३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना देखिएका सबै भारतबाट फर्किएका हुन् । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ । अहिले बढी केस देखा पर्न थाले पनि कोरोना नियन्त्रणमा सरोकारवालाको चासो देखिएको छैन ।नाकामा अहिलेसम्म एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिरहेको जनाउँदै गौरीफन्टा नाकास्थित हेल्थडेस्कमा कार्यरत अहेब गणेश साउँदले परीक्षण किट अभाव भइरहेको जनाउनुभयो ।“केस बढिरहेका बेला हामीकहाँ किट सीमित छ” उहाँले अगाडि थप्नुभयो, “यद्यपि, माथिबाट निर्देशन र अन्य निकायबाट कुनै सहयोग भएको छैन ।” यसअघि, कोरोना महामारीका बेला धेरैजसो सहयोगी निकायले कोरोना परीक्षण र नियन्त्रणका लागि सहयोग गरेका थिए ।भारतको जोखिम क्षेत्रबाट आएका र सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण भएकाहरूको नाकामा परीक्षण गर्ने गरिएको जनाइएको छ । सामान्य खालको लक्षण भएकाहरूको परीक्षण गर्दा कोरोना पुष्टि भइरहेको अहेब साउँदले बताउनुभयो । उहाँले कोरोना पुष्टि भएकालाई अहिलेसम्म होम आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको उल्लेख गर्नुभयो ।कोरोना सङ्क्रमण उकालो लागेपछि रोकथामको कार्य पनि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना रोकथाम गर्न तयारी अवस्थामा रहेको निर्देशक डा. जोशीको भनाइ छ । निगरानी, परीक्षण गर्ने कार्य पनि भइरहेको उहाँले बताउनुभयो ।
गोरखापत्र अनलाइन




























