काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण थालेको छ । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी गर्ने भन्ने बारेमा नार्कले किसानहरुलाई प्रशिक्षण दिइरहेको छ । तनहुँको बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम भइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले आठ दिने व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम सञ्चालन गरेको छ । सो तालिममा सातै प्रदेशका २० जना किसानहरु सहभागि रहेका छन् ।नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले तालिमको उद्धघाटन गर्दै यो कार्यक्रम बाख्रा पालन व्यवसायमा संलग्न व्यावसायिक किसानका लागि निकै महत्वपुर्ण भएको बताए । तालिम पश्चात व्यवसायिक बाख्रापालनका लागि किसानलाई थप ज्ञान प्राप्त भई बाख्रापालनलाई थप व्यवस्थित बनाउँन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नार्कद्धारा विकास गरिएका नवीनतम प्रविधिहरुको समेत जानकारी समावेस गरी तालिम दिने काम भइरहेको बताए । यो तालिम प्राप्त कृषक आफ्नो समाजको लागि व्यावसायिक कृषकको प्रतिनिधिको साथ साथै दिशा निर्देशकको रुपमा समेत काम गर्ने विश्वास उनले व्यक्त गरे । आठ दिनसम्म चल्ने यो तालिममा प्रत्येक प्रदेशबाट कम्तिमा २ जनाका दरले किसानहरुलाई सहभागिता गराइएको कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य बताए । तालिमको समापन मंगलबार हुदैछ ।