के मेरो जीवनको कुनै उद्देश्य पनि छ वा म यसै जन्मे जसरी चिप्लेकिरा र भ्यागुताहरु जन्मन्छन् ? म जन्मे किनभने यसमा मेरो नियन्त्रण थिएन तर अहिलेसम्म म बाँचिरहेको चाहिं किन ? अब मैले यो जीवनमा के हेर्न, गर्न र पाउन बाँकी छ र म बाँचिरहेको छु ? जन्मदिन पनि परेकाले म केका लागि बाँचिरहेको हुँला भनेर घोत्लिन मनलाग्यो । आउनुस् एकछिन् घोत्लिऊँ । कुरा नबुझिने र घुमाउरो हुन सक्छ तर गम्भीर छ । एक विद्वानले एउटा किताब लेख्यो, मानिस ४० वर्ष पुगेपछि किन बाँचिरहन्छ ? ४० सम्ममा त लगभग मान्छेले सबै कुरा भोग्छ । अब एकपटक सबै कुरा भोगिसकेपछि फेरि केका लागि बाँच्नु भन्ने उसको तर्क थियो तर ४० को भएपछि उसले आत्महत्या गरेन बरु अर्को किताब पो लेख्यो, ४० वर्षपछिको आनन्दमय जीवन ! अब हेरौं त त्यसको पहिलो पुस्तकको गोलचक्करमा परेर कसैले आत्महत्या गरेको भए ? त्यसकारण आफ्नो वा अर्काको बहकाउमा आएर मर्न हतारो नगरौं । यो ख्याल राखौं मरेर केही जितिँदैन । बाँच्नु जीवनको सबैभन्दा ठूलो सफलता हो । त्यसैले बेलाबेलामा आफूलाई सोध्ने गरौं, के म जिउँदै छु ? जिउँदो भएको पत्ता लाग्यो भने अब ढुक्क हौ, तिमीले अनेक करामत देखाउन सक्छौ किनकि जिउँदो मान्छेले गर्न नसक्ने यस संसारमा केही नै छैन । हामी सबैलाई के लाग्छ भने हाम्रो जीवनको उद्देश्य छ । बाँच्नु, प्रजनन् गर्नु र जीन अर्को पुस्तामा हस्तान्तरण गर्नु त मान्छे सहित धर्तिका सबै जीवनको साझा उद्देश्य नै हो । प्रमुख कुरा पनि हो । त्यसैले कोही प्रेम गरिरहेको छ भने बाधा दिने वा जिस्काउने नगर जुन हाम्रा प्रहरी लगाएर राज्यले गर्छ । प्रेम गरिरहेका कसैलाई पनि विथोल्नु भनेको अश्लीलता हो । ऊ मान्छेको अर्को पुस्ता तयार गर्ने गम्भीर जिम्मेवारी पूरा गर्दैछ ।सबैले गर्नुपर्छ । बरु उसलाई सुरक्षा दिनुपर्छ । फेरि उही प्रश्न जीवनको लक्ष्य के हो ? जीवनको सबैभन्दा ठूलो लक्ष्य जीवन स्वयम् हो, अर्थात् बाँच्नु । बाँच्नु बाहेक अरु सबै सेकेण्डरी हुन्, बाइ प्रोडक्ट हुन् । जस्तो तोरी पेल्दा पिना पनि मिल्छ जब कि लक्ष्य त तेल नै थियो । तर पिना पनि मिल्यो । जीवनमा जीवन तेल हो र आनन्द, खुशी अरु जेजे मिल्छन् सबै बाइप्रोडक्ट । आजभन्दा अरर्बौं वर्ष पहिला त्यो एककोषीय जीवले आफूलाई बचाएर जीन हस्तान्तरण गर्न आफूलाई विभाजन नगरेको भए ? कुनै पुछ्रेतारा धरामा ठोकिएर डाइनोस्वरजस्तो भीमकाय जीव सकिँदा त्यो सानो म्यामलले आफूलाई नबचाएको भए? धर्तिको कठोर चिसो र भोकमरीमा त्यो होमोसेपियनले आफूलाई नबचाएको भए ? आज मानवजाति हुने नै थिएन । अर्थात् तिमी र म जन्मने नै थिएनौ । अब जन्मँदै नजन्मेपछि केको जन्मदिन ? हुने नै थिएन र हाम्रा दुखसुख पनि हुने थिएनन् । त्यसैले जीवनमा बाँच्नु सबैभन्दा ठूलो कुरा हो । जीवनमा आएका समस्यादेखि डराएर आत्महत्या गर्ने बारे कहिल्यै नसोचौं । कठिनाइ बग्रेल्ती आउँछन्, समस्या र दुखले घाँटी अँठ्याउँछन् तर बाँच्नु पर्छ । जीवनलाई कुनै पनि हालतमा बचाउनु पर्छ । बाँचिरहे धेरै कुरा पाउने संभावना रहन्छ तर मरेपछि त संभावना पूरै सकियो नि हैन र ? के त्यो अमिवा, त्यो म्यामल र त्यो होमोसेपियनलाई हामीलाई भन्दा गाह्रो थिएन ? हाम्रा बाजे बराजुलाई नै हामीलाई भन्दा हजारौं गुणा गाह्रो थियो तर उनीहरुले पहाडबाट हाम्फालेर आफूलाई मारेनन् नि ? उनीहरुले आफूलाई नमारेकाले नै हामी छौं । समस्या उसबेला पनि बेहिसाब थिए तर तिनले हारेनन् । हार मानेनन् । परिणाम आज मान्छे छ । एक चेतनायुक्त शक्तिशाली मान्छे तिमीसँगै छ । तिमीसँगै हिंड्छ । के यो कम खुसीको कुरा हो कि बुद्ध बन्न तयार मान्छेसँग तिमी रातदिनको यात्रामा छौ । कहिलेकाहीं तिमी त्यो सर्वशक्तिमान मान्छेसँग तिमी कुरा गर । उसलाई प्रश्न सोध । उसले तिमीलाई तिम्रा प्रश्नको उत्तर पनि दिन्छ । र, खुशी बन तिमी आज पनि जिउँदा छौं । आज आत्महत्या नगरेर तिमीले आफूलाई बचायौ अनि अहंकारी र मूर्ख नेताले परमाणु बम हानेर मानवताको हत्या गर्ने प्रयास गर्दागर्दै पनि हामी बाँच्यौं भने यो मान्छे भन्ने जाति सभ्यताको अर्को स्टेजमा पुग्नेछ । यस कुराको प्रतीक्षा गर । यो तिमीलाई बुझ्न अलि गाह्रो होला तर तिमी भित्रको मान्छेले बुझिसकेको छ ।जसरी आजको मान्छेलाई धर्तिको कुनै पनि कुनो टाढा लाग्दैन त्यसैगरी एकदिन यो मान्छेलाई यस ग्यालेक्सीका कुनै पनि तारा, चन्द्रमा र पृथ्वी जस्ता अन्य ग्रहहरु टाढा हुने छैनन् । आज जसरी हामी कुनै पनि देशको मानिससँग लाइभ वार्ता गर्छौं त्यसैगरी अर्को ग्रहका एलियनसँग कुरा गर्नेछौं । विदा र हनिमुन मनाउन अर्कै ग्रह र अर्कै तारामा जानेछौं । तर यसका लागि बाँच्न जरुरी छ । प्रिय मान्छे, तिमी बाँच्न चाहन्छौं नि ? पक्कै चाहन्छौ । र, तिमी जस्तै अरु सबै जीवहरु पनि बाँच्न चाहन्छन् त्यसैले बाँच र बाँच्न देऊ, परिणाम एक दिन हामी स्ट्रिङ थ्योरीले बताएका सबै आयामहरु देख्न पाउने छौं । पूरा मिल्की वे ग्यालेक्सी घुम्ने छौं । हामीसँग आइन्स्टाइन र बुद्धको जस्तो चेतना एकसाथ हुनेछ । हामी पोस्ट मोर्डनिज्मभन्दा धेरै उन्नत सुपर मोर्डनिज्म युगमा हुनेछौं त्यसैले सबैलाई बाँच्नका लागि प्रेरणा दिउँ ।#punyaprasai