
नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गर्नुभएको छ ।सोमवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गर्नुभएको हो । उहाँले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरुसँग छलफल गर्नुभयो । सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिनुभयो । उहाँले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न भएको बताउनु भयो । उहाँले ठूला विकासका जनप्रतिनिधिहरुको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भुमिका रहेको बताउनु भयो । उहाँले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताउनु भयो । उहाँले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताउनु भयो । उहाँले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नारायणघाट बुटवल सडक आयोजनाको दुई वटै साइट निर्माणका प्रतिनिधिहरु र आयोजना व्यवस्थापन टिम, एडिबीको प्रतिनिधि र सचिवहरु सहित सकारात्मक छलफल अगाडि बढायौं । यसैको महत्वपूर्ण कडी बर्तघाट बजार क्षेत्रको काम करिब एक महिनाभित्र नै सम्पन्न गछौं भन्ने कुरा थियो । हुलाकी राजमार्ग लगायतका विषमा थप छलफल गरौंला । हामी जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न हुन । यी परियोजना सम्पन्न गर्नका लागि दोहोरो भूमिका पनि छ । सरकारको तर्फबाट गर्नुपर्ने सहजिकरण हामीले गरिरहेका छौं । गर्दै पनि छौं । निर्माण सामग्री सहज रुपमा उपलब्धता गराउनको लागि स्थानीय सरकारसँग समन्वय गरी नियम पालना गर्दै सहज बनाउने काममा लाग्यौं । धेरै अफ्ठ्यारो परिस्थितिको सामना गरौं । समाधान पनि भयो र अन्त्यमा समस्या नभएको कुरा आयो । भुक्तानीका समस्या सरकार ठेकेदार कम्पनीबीचका कुरा हुन हामीलाई निर्माण प्रगति चाहिन्छ । जनताकोबीचमा यी कुराहरु जानेवाला छन् । निर्माणको क्रममा रहेका विकास आयोजनाहरु यो मितिमा सम्पन्न हुनेछन् भन्ने प्रतिवद्धता जनाउनु पर्ने छ । भएको काम सन्तोषजनक छैन ।’उहाँले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ– बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले विगत सात वर्षदेखि काम थालिएको हुलाकी सडकको काम पनि वर्षाैंदेखि धीमा गतिमा भइरहेको बताउनु भयो ।




























