काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान सुरु गर्ने बताए ।‘विमानहरु टेकअफ र ल्याण्डिङ वैशाख ८ देखि सुरु हुन्छ । नयाँ बनेको टावर हाम्रो पहिल्यै सञ्चालनमा आइसकेको छ । सञ्चालनमा आउन बाँकी रन वे थियो, त्यो पनि वैशाख ८ देखि सञ्चालनमा आउँछ’ उनले भने ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्ध जयन्तीका दिनबाट सुरु हुने जानकारी दिए । महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण र रन वेको क्षमता बढाउने काम मात्र बाँकी रहेको जानकारी दिए ।