
काठमाडौँ, जेठ १८ गते । यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ ।उहाँले भन्नुभयो, “नेपाल भित्रने मनसुन अहिले भारतको केरला आसपास आइपुगेको छ । अबको १० दिनमा नेपाल भित्रन सक्ने सम्भावना छ ।”गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो ।गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने बताउनुभयो । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो ।बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उहाँको भनाइ छ ।मौसमविद् लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भूभागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको पशिचमी भूभागमा भने पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । अहिले नेपालगन्ज आसपासको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौँ उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।




























