
रुकुमपश्चिम, असार १४ गते । मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । बिहीबार बेलुका रुकुमपश्चिमको मुसिकोट नगरपालिका ८ किटनीमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने यातायातका साधनहरू रोकिएको काठमाडौँ जाँदै गर्नुभएका त्रिभुवन जनता मावि मुसिकोटका शिक्षक डिल्ली डाँगीले जानकारी दिनुभयो ।रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका छन् । उहाँका अनुसार किटनीको माथिल्लो भागबाट ठुलो पहिरो आएको छ । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बाटो खुलाउने कोसिस भइरहेको बताउनुभयो ।बिहीबार राती भएकोले पहिरो पन्छाउन कठिनाइ देखिएको र आज बिहानै पहिरो हटाउनको लागी एक्स्काभेटर त्यसतर्फ गएको उहाँले जानकारी दिनुभयो ।




























