
काठमाडौं ।– पर्वतारोहण संचालक संघ नेपालले वसन्त ऋतुमा हिमाल आरोहण गरेका आरोहीहरुलाई प्रमाण पत्र बितरण एवं सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रम शुक्रबार मनास्लु होटेलमा सम्पन्न भएको थियो | कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि रहेका थिए | मन्त्री तामाङले हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको बताएका छन ।“आफ्नो जीवन जोखिममा राखेर वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से तथा शरद् ऋतुमा मनास्लु, अमादब्लम एवम् हिमलुङ हिमालमा डोरी टाँग्ने तथा बाटो खोल्ने काम गरेर आरोहीलाई सहजता प्रदान गर्नेप्रति मन्त्रि तामाङले सम्मान व्यक्त गरेका थिए | उक्त अवसरमा मन्त्री तामाङले चोयु हिमाल नेपालमा भए पनि उत्तर चीनतर्फबाट मात्र चढ्ने गरेकामा यस वर्षदेखि नेपालबाटै चढ्ने वातावरण मिलाएको भन्दै आरोहीलाई धन्यवाद दिदै वर्तमान ऐन, कानुन, नीतिनियममा रहेर पर्वतारोहण सञ्चालनमा सङ्घ लाग्नुपर्ने पनि उनले विचार व्यक्त गरेका छन् |कार्यक्रममा बसन्त ऋतु २०२४ मा ८, ५१६M अग्लो ल्होत्से हिमाल आरोहणको लागि बाटो खोल्ने तथा डोरी टाग्ने सम्मानित आरोहीहरुलाई प्रमाणपत्र दिई सम्मान गरिएको थियो |
पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीले हिमालमा बाटो खोल्ने तथा डोरी टाँग्ने कार्यलाई दीर्घकालसम्म सङ्घलाई सञ्चालन गर्न अनुमति दिन सरकारलाई आग्रह गरेका छन् |उनले नेपालको पर्वतीय पर्यटनको आरोहण अभियानलाई सुरक्षित एवम् भरपर्दो बनाई विश्वसनीयतापूर्वक सञ्चालन गर्न डोरी टाँग्ने कार्यसम्बन्धी एक कार्यविधि बनाई लागू गर्नुपर्ने आवश्यक रहेको बताएका छन ।




























