
श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । नेपाली टिम आजै श्रीलंका प्रस्थान गर्दै छ ।१३ जुलाई देखि २३ जुलाईसम्म श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपमा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागिता जनाउँदै छन् । नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता यूएई तथा तेस्रो भएको ओमान पनि इमर्जिङ कप खेल्दै छन् ।इमर्जिङ कपको समूह बी मा नेपाल, यूएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग खेल्नेछ । नेपालले जुलाई १९ मा यूएईसँग खेल्नेछ । जुलाई २१ मा प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ भने जुलाई २३ मा प्रतियोगिताको फाइनल खेल हुनेछ ।इमर्जिङ कप खेल्ने नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको हो ।




























