धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलको सिट बाँडफाँटमा देखिएको असन्तुष्टि केही दिनमै शान्त हुने बताएका छन् । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनभित्र धेरथोर असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता भएको बताए ।उनले भने, 'निर्वाचनमा गठबन्धनभित्र मात्र होइन एउटै पार्टीभित्र पनि एउटाले टिकट पाएपछि केही न केही असन्तुष्टि देखापरिहाल्छ । गठबन्धनभित्र धेर-थोर असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता भने पनि हुन्छ । ठूलो असन्तुष्टि केही छैन ।'चुनावी तालमेलबारे नेपाली काँग्रेसमा देखिएको असन्तुष्टिले चुनावी परिणाममा कुनै फरक नपर्ने प्रचण्डको भनाइ छ । 'काँग्रेसमा देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नमा उनले भने, 'यसले परिणाममा केही फरक पार्दैन । एक दुई दिनभित्र ती सबै साथीहरु शान्त हुन्छन् । गठबन्धनको केन्द्रले बुद्धिमता पूर्वक निर्णय गरेको सबैले बुझ्नुहुन्छ ।'यस्तै उनले सुदूरपश्चिममा सबैतिर गठबन्धनबीच तालमेल हुने विश्वास गरे । 'गठबन्धनभित्र तालमेलमा अधिकतम् जोड गर्ने हामीले हिजो जारी विज्ञप्तिमा उल्लेख छ । केन्द्रमा जसरी हामीले महानगर र उपमहानगरमा तालमेल गरेको छौं, त्यही मर्म र भावनालाई आत्मा साथ गरेर देशैभरी तालमेल गर्ने भनेका छौं,' उनले भने ।गठबन्धनभित्र समस्या देखिए स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेको प्रचण्डको भनाइ छ । तर गठबन्धनबीचको प्रतिस्पर्धा भन्दा तालमेलमा नै जोड दिइएको उनले बताए । यस्तै प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन विरोधी र प्रतिगमनका पक्षधरहरुको कित्ता क्लियर भएको बताए ।'हिजोका राजा महाराजासँगका शक्ति वा दलाल शक्तिहरूको गठबन्धन बनाउँदै छन् । कहिले ८ दल कहिले ९ दल भन्ने गरिएको छ,' उनले भने, 'अहिले दुई वटा गठबन्धन छन् । एउटा अग्रगमन, परिवर्तन र विकासका पक्षधरको गठबन्धन र अर्को यसलाई उल्ट्याउने कोशिस गर्नेहरुको पक्षधरबीच ध्रुवीकरण देखिएको छ ।'
सुदूरपश्चिमले परिवर्तनको पक्षमा अभिमत जाहेर गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । सुदूरपश्चिममा माओवादी केन्द्रको संगठन राम्रोसँग अगाडि बढेकोमा उनले खुशी प्रकट गरे । माओवादीबाट हिजो विभाजित भएका नेताहरु अहिले पार्टीमा जोडिने गरेको उनले बताए ।