
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । हुग्दी खोलानजिक पानीधारामा आइतबार साँझ ६ बजे ठूला चट्टानसहित पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सोमबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।नागढुंगा–मलेखु सडक आयोजना (पश्चिम खण्ड)का अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सडकखण्ड सञ्चालनमा ल्याइएको हो ।आयोजनाले जारी गरेको सूचनामा भनिएको छ, “आज बिहान ११ बजे पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको छ । यद्यपि धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउतर्फ भासिएको छ । सो स्थानहरूमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।”आयोजनाका अनुसार आइतबारदेखि वर्षा रोकिए पनि पहिरो खस्ने जोखिम भने कायमै छ । विशेषगरी कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दीदेखि जवाङ खोलासम्मको क्षेत्रमा ढुंगा खस्ने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।आयोजनाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन यात्रुलाई अनुरोध गरेको छ ।




























