
काठमाडौँ -कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि अघि छलफल गर्न आग्रह गर्नुभएको छ ।सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरि अघि बढ्न आग्रह गर्नुभएको हो । सदनले विजनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई निष्कर्षमा पुराउनुपर्नेमा उहाले जोड दिनुभयो । मन्त्री चौरसियाले केहि नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयहरुमा सहमति खोज्न आफु गम्भीर भएर लाग्ने जिकिर गर्नुभयो । त्यस्तै विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुङ्गो लगाउन उहाले सुझाव दिनुभयो ।बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको थियो । तर समिति सदस्यहरुले नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुराएपछि मात्रै अन्य विधेयकमाथि छलफल गर्न सुझाव दिएका थिए ।




























