
काठमाडौं । देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको छ ।मंगलबार काठमाडौंको वीर अस्पताल पुगेर पत्रकार श्रेष्ठले पुरस्कारबापत प्राप्त एक लाख रुपैया मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको हो ।त्यस्तै रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले ८२ हजार रुपैया सहयोग गर्नुभएको थियो भने करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद पत्रकार दियालीलाई सहयोग गर्नुभएको छ ।एकजना पत्रकारलाई दुख पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनाका साथ आफुले प्राप्त गरेको पुरस्कारबापतको रकम पत्रकार दियालीलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो ।मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुनुहुन्छ । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उहाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।




























