
काठमाडौं । इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई जोडेर गरिएको भिडियो सम्मेलनमार्फत दिइएको हो ।राजदूत पण्डितका अनुसार, आइडीएफले परिवार र दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा ‘वि हिज नो मोर’ भन्दै विपिनको मृत्युको पुष्टि गरेको हो ।टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो । राजदूत पण्डितका अनुसार, इजरायली अधिकारीहरूले अब विपिनको मृत्युबारे थप विवरण र प्रमाणिकरण प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । नेपाल सरकारले यसअघि नै विपिनको खोजी र उद्धारका लागि इजरायल सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको थियो ।




























