
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्व भन्दा बढिको क्षति भएको बताउनुभएको छ ।अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन बिषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केहि स्थानमा पक्लीपुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताउनुभएको हो ।उहाले क्षतिग्रस्त सडकहरुको मर्मत गरि यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राख्नुभयो । चाडवाडअघि नै अवरुद्ध भएका सवै सडक सञ्जाल सूचारु भइसक्ने जानकारी दिदै मन्त्री दाहालले अन्य सडकखण्डहरु पनि मर्मत गरिने बताउनुभयो ।उहाले चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताउनुभयो ।यात्रुहरुलाई सहज रुपमा यात्रा गराउनका लागि प्रभावकारी रुपमा अनुगमन गरिने उहाको भनाइ छ ।




























