
काठमाडौं| संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिटै समाधान हुने बताउनुभएको छ ।मन्त्रालय सम्हालेको सय दिनमा भएका कामकारवाहीका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरि अध्ययन समिति गठन गरेको र त्यस्तका प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिटै समाधान हुने बताउनुभएको हो । उहाले पशुपति क्षेत्र बिकास कोषले मन्त्रालयलाई नै जानकारी नदिइ धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको उल्लेख गर्नुभयो ।मारवाडी सेवा समिति पुन अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले नेपाल वायुसेवा निगमलाई बलियो बनाउनका लागि अध्ययन भइरहेको र निगमलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने जिकिर गर्नुभयो ।निगम सञ्चालनका लागि कानूनी वा नीतिगत कमजोरीका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने उहाले बताउनुभयो । उहाले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्ययन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरु गरेको जानकारी दिनुभयो ।हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध बिमानस्थल र पोखरा बिमानस्थलबाट नियमित रुपमा अन्तराष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उहाको भनाइ छ ।त्यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्ययन क्षेत्रको समग्र सुधारका लागि आवश्यक कानूनी व्यवस्थाप्रति मन्त्रालयको बिशेष ध्यान केन्द्रीत भएको मन्त्री पाण्डेले बताउनुभयो ।




























