काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सोमबारदेखि थुनछेक बहस हुने भएको छ ।अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।आइतबार लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।