
काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै अपराधीलाई जोगाउने काम नगर्न अपिल गरेकी छन् ।हालै जनआस्था साप्ताहिकमा गौर हत्याकाण्डसम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उनले उक्त समाचारमा समावेश गरिएका विषयवस्तुहरू तथ्य, प्रमाण र आधिकारिक अभिलेखसँग मेल नखाने, भ्रामक तथा कपोलकल्पित प्रकृतिका रहेको भन्दै कडा आपत्ति जनाएकी छन् ।समाचारमा घटनाको तोडमोड, अप्रमाणित आरोपहरूको समावेश, तथा भ्रामक व्याख्याहरू प्रस्तुत गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताउदै उनले यो पत्रकारिताको आचारसंहिता तथा प्रचलित कानुनविपरीत रहेको जनाएकी छन् ।गौर हत्याकाण्डका हत्यारालाई कानूनी कारबाही गराउन र पीडितलाई न्याय दिलाउनका लागि निरन्तर साथ, सहयोग र अभिभाकीय भूमिका निर्वाह गर्दै सडक, सदनदेखी सर्वोच्च अदालतसम्म सहयोग गर्दै आएका आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहको भूमिकालाई तोडमोड गरी तथ्यविहीन आरोपित जोडनु निन्दनीय र अस्वीकार्य भएको उनले बताइएकी छन् ।‘सबैलाई थाहा छ, हामी पीडितलाई न्याय दिलाउन सुरुदेखि नै सडक, सदन र सर्वोच्च अदालतसम्म आवाज उठाउने नेता प्रभु साह हुनुहुन्छ । उहाँले यो घटनाको प्रारम्भदेखि नै हाम्रो संघर्षमा अभिभावकीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । एक अर्थमा भन्नुपर्दा उहाँ हामी पीडितका लागि भगवान् सरह हुनुहुन्छ,’ गौर हत्याकाण्डमा पति गुमाएकी पीडित उपाध्यायले भनिन् ।घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउनमा सहयोग गर्न अपिल गर्दै उनले गम्भीर र संवेदनशील आपराधिक घटनासम्बन्धी बिषयमा पीडितलाई न्याय दिलाउने तथा दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने अभियानमा सहयोग गर्न आग्रह गरेकी छन् ।‘हामी पीडित पक्ष विगत करिब १८ वर्षदेखि उक्त जघन्य हत्याकाण्डका दोषीहरूलाई कानुनी दायरामा ल्याई न्याय सुनिश्चित गराउन निरन्तर रूपमा संघर्षरत छौं । यस क्रममा हामीले शान्तिपूर्ण आन्दोलन, सम्बन्धित निकायहरूमा ध्यानाकर्षण, तथा सर्वोच्च अदालतसम्म कानुनी उपचारको बाटो अवलम्बन गर्दै आएका छौं, जुन विषय सर्वविदित नै छ,’ उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।गौर हत्याकाण्ड जस्तो गम्भीर र संवेदनशील आपराधिक घटनासम्बन्धी विषयमा सञ्चारमाध्यमले उच्चतम पेशागत उत्तरदायित्व, तथ्यपरकता, निष्पक्षता तथा प्रमाणमा आधारित प्रस्तुति दिनुपर्ने कानुनी र नैतिक दायित्व रहेको उनले जनाएकी छन् ।यस प्रकारका भ्रामक र तथ्यहीन समाचारहरूले पीडित पक्षको न्याय प्राप्तिको अभियानलाई कमजोर बनाउने, जनमतलाई भ्रमित गर्ने तथा वास्तविक दोषीहरूलाई उन्मुक्ति दिलाउने वातावरण सिर्जना गर्न सक्ने भएकाले उनले गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।सम्बन्धित सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई यस्ता भ्रामक, तथ्यहीन तथा गैरजिम्मेवार समाचारहरू तत्काल सच्याउन, प्रकाशित सामग्रीको औपचारिक खण्डन तथा आवश्यक सुधारसहित पुनःप्रकाशन गर्न, र भविष्यमा यस्ता कार्य नदोहोर्याउन उनले आग्रह गरेकी छन् ।




























