
काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ ।




























